१ महिनामा ५२ अर्ब अन्तर–बैंक कारोबार

काठमाडौं । नेपाल राष्ट्र बैंकले पछिल्लो समय अन्तर–बैंक कारोबार रकम घटेको बताएको छ । राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो महिनामा वाणिज्य बैंकहरुको ५१ अर्ब ५० करोड रुपैयाँ र अन्य वित्तीय संस्थाहरु (वाणिज्य बैंकहरुबीच बाहेक) को ६५ करोड रुपैयाँ गरी कुल ५२ अर्ब १५ करोड रुपैयाँको अन्तर–बैंक कारोबार भएको छ ।

अघिल्लो वर्षको सोही अवधिमा वाणिज्य बैंकहरुको ५ खर्ब ६१ अर्ब ६७ करोड रुपैयाँ र अन्य वित्तीय संस्थाहरुको ९३ अर्ब ७७ करोड रुपैयाँ गरी कुल ६ खर्ब ५५ अर्ब ४४ करोड रुपैयाँको अन्तर बैंक कारोबार भएको थियो ।

तरलता व्यवस्थापन
राष्ट्र बैंकले चालु आर्थिक वर्षको साउनमा निक्षेप संकलन बोलकबोलमार्फत ८७ अर्ब ८० करोड रुपैयाँ र स्थायी निक्षेप सुविधामार्फत ४३ खर्ब ८८ अर्ब  ६५ करोड रुपैयाँ गरी कुल ४४ खर्ब ७६ अर्ब ४५ करोड रुपैयाँ (कारोबारमा आधारित) तरलता प्रशोचन गरिएको छ । अघिल्लो वर्षको सोही अवधिमा ओभरनाइट तरलता सुविधा र स्थायी तरलता सुविधा लगायतका उपकरणहरुमार्फत खुद २ खर्ब ३६ अर्ब २९ करोड रुपैयाँ तरलता प्रवाह गरिएको थियो ।

चालु आर्थिक वर्षको साउनमा राष्ट्र बैंकले विदेशी विनिमय बजार (वाणिज्य बैंकहरु) बाट अमेरिकी डलर ४१ करोड ३४ लाख रुपैयाँ खुद खरिद गरी ५५ अर्ब ४२ करोड रुपैयाँ तरलता प्रवाह गरेको छ । अघिल्लो वर्षको सोही अवधिमा विदेशी विनिमय बजारबाट अमेरिकी डलर ४६ करोड ३७ लाख खुद खरिद गरी ६१ अर्ब २२ करोड रुपैयाँ तरलता प्रवाह गरिएको थियो ।
चालु आर्थिक वर्षको साउनमा अमेरिकी डलर ३४ करोड १० लाख बिक्री गरी ४५ अर्ब ७१ करोड रुपैयाँ बराबरको भारतीय रुपैयाँ खरिद भएको छ । अघिल्लो वर्षको सोही अवधिमा अमेरिकी डलर २४ करोड बिक्री गरी ३१ अर्ब ६७ करोड रुपैयाँ बराबरको भारतीय रुपैयाँ खरिद भएको थियो ।

Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार