बाढी पहिरोका कारण ६८ स्थानका सडक अवरुद्ध

काठमाडौं । बिहीबार रातिदेखि परेको अविरल वर्षाको कारण  देशका विभिन्न राजमार्गका ६८ वटाभन्दा बढी स्थानमा सडक अवरूद्ध भएको छ । कतै–कतै आंशिक रुपमा एकतर्फी सवारीसाधन सञ्चालनको प्रयास भइरहेको भए पनि अधिकांश सडक ठप्प नै छन् ।

विभिन्न २३ राजमार्गका ६८ ठाउँ पूर्ण क्षति भएका छन् भने ३ सय ८० ठाउँमा एकतर्फी रूपमा यातायात सञ्चालन गर्न सक्ने अवस्था रहेको सडक विभागले जानकारी दिएको छ ।

बाढी र पहिलोबाट नागढुंगा–मुग्लिन, मुग्लिन–पोखरा, नारायणगढ–मुग्लिन, बेनी–जोनसामे, बिपी राजमार्गको काभ्रे र सिन्धुली खण्ड, अरनीको राजमार्गको सिन्धुपाल्चोक खण्ड, पुष्पलाल राजमार्गको सिन्धुली, खोटाङ र ओखलढुंगा खण्ड बढी प्रभावित भएको छ।

काठमाडौं भित्रिने र बाहिरिने नाकाका सडकहरू नै ठप्प छन्। आज तेस्रो दिन पनि काठमाडौंबाट सवारीसाधन बाहिरिएका छैनन्। भित्रिने क्रममा रहेका सवारीसाधनहरू बीचबाटोमै अलपत्र छन्।

काठमाडौं, उपत्यका प्रवेश गर्ने दक्षिणकाली सिस्नेरी सडक खण्ड पूर्णत: अवरूद्ध छ। सिस्नेरी सडक खण्डमा अवरोध रहेको प्रहरीले जानकारी दियो। त्यस्तै त्रिभुवन विश्वविद्यालयको सेवा आयोग अगाडिको सडक पनि अवरूद्ध तछ। बल्खु–फर्पिङ सडक खण्ड पूर्णरूपमा अवरूद्ध रहेको विभागले जानकारी दिएको छ।

थानकोट हुँदै काठमाडौं प्रवेश गर्ने पृथ्वी राजमार्ग चन्द्रागिरि नगरपालिका वडा नम्बर २ मा अवरूद्ध छ। लेले–टीकाभैरव जाने बाटो गोदावरी नगरपालिका वडा नम्बर ६ मा पूर्णरूपमा अवरूद्ध रहेको विभागले जानकारी दिएको छ।

बागमती प्रदेशअन्तर्गत उपत्यका प्रवेश गर्ने कान्तीलोकपथ मकवानपुरको घट्टेपाखमा अवरूद्ध छ। भीमफेदी–कुलेखानी–फाखेल सडक इन्द्रसरोवर गाउँपालिका–२ सुकौरामा अवरूद्ध छ। कान्तीलोकपथ खण्ड नै मकवानपुरकै आँपचौर र लाम्राङमा अवरूद्ध छ।

कोशी प्रदेशअन्तर्गत राँके–भेडेटार सडक धनकुटाको चौबीसे गाउँपालिका वडा नम्बर १ सौर्यमा अवरूद्ध छ। दिक्तेल–गाइघाट सडक खोटाङको दिप्रुङचुइचुम्मा गाउँपालिका वडा नम्बर ४ मा अवरूद्ध छ। इलामा मेची राजमार्ग माइखोलामा पहिरोका कारणले सडक अरूद्ध छ।

उदयपुरमा बाढीले कटारी नगरपालिका वडा नम्बर २ मा सिद्धिचरण राजमार्ग अवरूद्ध तुल्याएको छ। पहिरोले कटारी नगरपालिका १४ चनौटेमा सिद्धिचरण राजमार्ग नै अवरूद्ध छ।

त्रिभुवन राजपथ थाहा नगरपालिका वडा नम्बर ११ मा टिस्टुङ देउरालीमा पूर्णरूपमा अवरूद्ध छ। त्रिभुवन राजपथ नै थाहा नगरपालिका वडा नम्बर ५ मा पनि अवरूद्ध छ। पहिरोले कुलेखानी–मार्खु सडक पनि इन्द्रसरोवर गाउँपालिका वडा नम्बर १ मा अवरूद्ध छ। सिस्नेरी दक्षिणकाली सडक इन्द्रसरोवर गाउँपालिका वडा नम्बर ३ मा अवरूद्ध छ।

पासाङल्हामु राजमार्ग रसुवाको गोसाइँकुण्ड गाउँपालिकाको टिमुरे बजारमा बाढीले अवरूद्ध छ। पहिरोले पासाङ ल्हामु राजमार्ग नै गोसाइँकुण्ड गाउँपालिकाको मेदाफुदुङमा अवरूद्ध छ। काभ्रेपलाञ्चोकमा रोशी गाउँपालिका वडा नम्बर ८ चारसयबेसीमा विपी राजमार्ग अवरूद्ध छ।

सिन्धुलीमा मध्यपहाडी लोकमार्ग गोलञ्जोर गाउँपालिका वडा नम्बर ६ मा पहिरो खस्दा अवरूद्ध छ। फिक्कल गाउँपालिका वडा नम्बर २ मा मध्यपहाडी राजमार्ग नै अवरूद्ध छ।

हरिहरपुरगढी गाउँपालिकामा मदन भण्डारी राजमार्ग अवरूद्ध छ।

धादिङमा ६ स्थान, धुनीबेसी, थाक्रे गाउँपालिकाको एक–एक, बेनीघाट रोराङ गाउँपालिकाको तीन ठाउँ र गजुरी गाउँपालिकाको छहरा र गल्छी गाउँपालिकाको चिरौँदीमा पृथ्वी राजमार्ग अवरूद्ध छ।

सिन्धुपाल्चोकमा अरनिको राजमार्ग चौतारा साँगाचोक गढी गाउँपालिका वडा नम्बर ११ पहरीगाउँमा अवरूद्ध छ। सिन्धुपाल्चोककै भोटेकोशीको लार्चा र लिपिङमा पुल बगाउँदा अवरूद्ध छ।

चौतारा साँगाचोक गढीको ११ नम्बर वडामै वनदेउ–चौतारा सडक खण्ड पहिराले अवरूद्ध छ।

सिन्धुपाल्चोककै पोखरेमा पनि यही सडक खण्ड पहिराले अवरूद्ध बनाएको छ। बाह्रबिसे–तातोपानी सडक बाह्रबिसे नगरपालिका वडा नम्बर ५ मा अवरूद्ध छ। रामेछाप–सिन्धुली, खुर्कोट जोड्ने सडक मन्थली नगरपालिका वडा नम्बर ६ मा अवरूद्ध छ।

गण्डकीमा कालीगण्डकी करिडोरअन्तर्गतको सडक गैँडाकोट नगरपालिका वडा नम्बर ३मा अवरूद्ध छ। त्यस्तै म्याग्दीको मालिका गाउँपालिका वडा नम्बर ६ बांगेमा बेनी–दरबाङ सडक अवरूद्ध छ। स्याङ्जाको वालिङ नगरपालिका–१३ मा सिद्धार्थ राजमार्ग अवरूद्ध छ।

पाल्पाको तिनाउ गाउँपालिका केराबारीमा सिद्धार्थ राजमार्ग अवरूद्ध छ। पाल्पाको तानसेन नगरपालिकामा पाल्पा–गुल्मी सडक अवरूद्ध छ। अर्घाखाँचीको शीतगंगा नगरपालिका २ भुवनपाटामा गोरूसिंगे–सन्धीखर्क सडक अवरूद्ध छ।

रोल्पाको त्रिवेणी गाउँपालिकामा रूकुम घोराही सडक अवरूद्ध छ। माडी गाउँपालिका २ मा पनि सडक अवरूद्ध छ। गुल्मीको छत्रकोटमा तम्घास–रिडी सडक अवरूद्ध छ। दाङको तुुलसीपुर उपमहानगरपालिका वडा नम्बर ३ राम्रीमा दाङ–सल्यान सडक अवरूद्ध छ। हुम्लाको सर्केगाड गाउँपालिकामा कर्णाली करिडोर अवरूद्ध छ।

Garima Bikas
Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार