बीपी राजमार्ग क्षतविक्षत, सडक खुल्न कम्तिमा तीन दिन लाग्ने

काठमाडौं । तराईका जिल्लालाई छोटो दूरीमा राजधानीसँग जोड्ने जापान सरकारको सहयोगमा निर्माण भएको बीपी राजमार्ग दुई दिनअघिको अविरल वर्षाका कारण क्षतविक्षत गरी भत्किएको छ ।

उक्त राजमार्गको खुर्कोट–नेपालथोक खण्डअन्तर्गत गोलन्जोर गाउँपालिका–७ स्थित कानढुङ्ग्री नजिकै करिब ३० मिटरभन्दा बढी सडक शनिबार राती भासिएर आवागमन नै नहुने अवस्थामा पुगेको छ । सुनकोशी नदीमा आएको बाढीले उक्त सडकको फाउण्डेसन ९जग० भत्काएपछि सडक भत्किएको उक्त वडाका अध्यक्ष रेगनराज थापाले जानकारी दिए ।

उनले भने, ‘हामी शनिबार बेलुका ७ बजेतिर जाँदा त्यसको अवस्था ठिक थियो । बिहान जाँदा भासिरहेको रहेछ । त्यसको फाउण्डेसन कोशीले काटेछ । तल कोप्री रहेको हुनाले माथिको प्रेसरले त्यो झर्‍यो ।’

बीपी राजमार्गकै खुर्कोट बजार नजिकै करिब १५ मिटर सडक चर्किएको र त्यहाँ वैकल्पिक बाटो बनाउने ठाउँ पनि नभएको उनले सुनाए । यता जिल्ला प्रशासन कार्यालयले भने सिन्धुली जिल्लामा बीपी राजमार्गको तेस्रो खण्ड खुर्कोट–नेपालथोक खण्डअन्तर्गत सबैभन्दा बढी मुलकोटदेखि नेपालथोकसम्म सात ठाउँमा सडक भत्किएर क्षति भएको जनाएको छ ।

सिन्धुलीका प्रमुख जिल्ला अधिकारी लीलाप्रसाद शर्माले सडक भासिएको कानढुङ्ग्री नजिकै नेपाली सेनाले अस्थायी ट्रयाक निर्माण सुरु गरेको र आइतबार बेलुकासम्म उक्त ट्रयाक निर्माण हुने बताए । उनले भने, ‘कहाँ कति भत्किएको छ, कहाँ पिच काटेको छ । त्यसको सडक विभागले प्राविधिक प्रतिवेदन बनाउला । त्योभन्दा सातातिना पहिरो झरेर थुप्रिएको गनिसाध्य छैन ।’

मेसिन लगाएर पहिरो पन्छाउने काम भइरहेको र आज नेपालथोकसम्म पुग्ने उनले बताए । प्रजिअ शर्माका अनुसार क्षतिको विवरण सङ्कलन गरी गृह मन्त्रालय र नेपाल सरकारलाई पठाउने काम भइरहेको छ । ‘अहिले हाम्रो प्राथमिक काम भनेको नेपालथोकसम्म बाटो खुलाउने हो, त्यसका लागि हामी लागिरहेका छौं,’ उनले थपे ।

बीपी राजमार्गले तराईको धनुषा, महोत्तरी हुँदै पहाडी जिल्ला सिन्धुली, काभ्रे जिल्लालाई राजधानी काठमाडौसँग जोड्दछ । महोत्तरीको बर्दिबासदेखि काभ्रेको धुलिखेलसम्मको कुल १६० किलोमिटर लम्बाइको बीपी राजमार्गलाई चार खण्डमा विभाजन गरी वि।सं। २०५२ सालदेखि निर्माण सुरु गरिएको थियो । १९ वर्षमा निर्माण सम्पन्न भएको बीपी राजमार्ग निर्माणमा जापान सरकारको २६ अर्ब रुपियाँ ९नेपाली रुपियाँ० लगानी भएको थियो ।

अविरल वर्षासँगै रोसी खोलामा आएको बाढीले बीपी राजमार्गको नेपालथोक अगाडि करिब ६० मिटर लम्बाइको सडक कालोपत्रेसहित भत्काएर पूरै बगाएको छ । जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रमुख ९एसपी० गोविन्दराज काफ्लेले बीपी राजमार्ग सिन्धुलीको दुम्जा क्षेत्र र काभ्रे जिल्लामा वर्षाका कारण सडक धेरै क्षति भएकाले यातायात खुलाउन तीन(चार दिन लाग्न सक्ने बताए । जतिसक्दो चाँडै एकतर्फी भने पनि यातायात सेवा खुलाउने प्रयास भइरहेको प्रहरीले जनाएको छ ।

Garima Bikas
Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार