धान–चामल आयात वीरगञ्ज नाकाबाट घट्यो

Garima_Business-Loan3

वीरगञ्ज (पर्सा) । चालु आर्थिक वर्षको दुई महिनामा वीरगञ्ज नाकाबाट धान–चामलको आयात घटेको छ । चालु आवको भदौसम्म ९६ करोड ३२ लाख ५६ हजार रुपैयाँको २ करोड ६३ लाख ३४ हजार ७ सय ९० किलो धान आयात भएको छ ।

गत आवको सोही अवधिमा १ अर्ब ३१ करोड २९ लाख १० हजार रुपैयाँको ३ करोड ७९ लाख ५१ हजार पाँच सय ६६ किलो धान आयात भएको थियो । गत आवको तुलनामा चालु आवको सोही अवधिमा धानको आयात ३० दशमलव ६१ प्रतिशतले घटेको हो ।

गत आवको तुलनामा चालु आवमा धान र चामलको आयातमा केही कमी आएको वीरगञ्ज भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक दीपक लामिछानेले बताए । चालु आवको भदौ मसान्तसम्ममा कनिका आयातमा पनि कमी आएको छ ।

२२ करोड १७ लाख २८ हजार रुपैयाँको १६ लाख ८८ हजार नौ सय किलो चामल तथा कनिका चालु आवको भदौ मसान्तसम्ममा आयात भएको छ । गत आवको सोही अवधिमा २६ करोड पाँच लाख २७ हजार रुपैयाँको २२ लाख ३ हजार ९ सय किलो चामल तथा कनिका आयात भएको थियो । गत आवको तुलनामा चालु आवको सोही अवधिमा २३ दशमलव ३७ प्रतिशतले चामल तथा कनिकाको आयात घटेको हो ।

भदौ मसान्तसम्ममा ६१ करोड २४ लाख ७८ हजार रुपैयाँको एक करोड ५० लाख ३८ हजार किलो मकै आयात भएको छ । चालु आवमा दुई महिनामा मकैको आयात पनि घटेको छ । गत आवको सोही अवधिमा ६७ करोड ९७ लाख ६२ हजार रुपैयाँको १ करोड ८६ लाख ९१ हजार ७ सय १४ किलो मकै आयात भएको थियो । गत आवको तुलनामा चालु आवको सोही अवधिमा मकैको आयात १९ दशमलव ५५ प्रतिशतले घटेको हो ।

Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार