बाढीपहिरोबाट ३४ राजमार्गका ८०५ स्थान र ८ पुलमा क्षति, संरचरना पुन स्थापना गर्न २५ अर्ब लाग्ने

काठमाडौं । गत असोज ११ र १२ गते अबिरल वर्षाका कारण आएको बाढीपहिरोबाट ३४ राजमार्गका ८०५ स्थान र ८ पुलमा क्षति पुगेको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले जानकारी दिएको छ ।

बिहीबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा भौतिक पूर्वाधार तथा यातायात सचिव केशवकुमार शर्माले बाढीपहिरोबाट ३४ राजमार्गका ८०५ स्थान र ८ पुलमा क्षति पुगेको जानकारी दिए ।

पहिरोका कारण अवरुद्ध भएका ७७४ स्थानको पहिरो हटाई २९ राजमार्गमा यातायात सञ्चालन भइसकेको छ । निरन्तर प्रयासका बाबजुत अझैसम्म पाँच मुख्य राजमार्गका ३१ स्थानमा यातायात सञ्चालन हुन नसकेको सचिव शर्माले बताए । ‘अवरुद्ध सडक सञ्चालन गर्न विभागले प्रयास जारी राखेको छ । कतिपय स्थानमा पहिरो हटाउन अतिरिक्त कटिङ फिलिङ टेवा पर्खालका साथै ह्युम् पाइप र अस्थायी प्रकृतिको बेलिब्रिज राख्नु पर्ने अवस्था छ,’ शर्माले भने ।

हालसम्म सडक पूर्वाधारमा पुगेको क्षतिको पूर्ण विवतरण प्राप्त हुन सकेको छैन । प्रारम्भिक अनुमान अनुसार सडक तथा पुलतर्फ अस्थायी यातायात चालु गर्न साढे दुई अर्बदेखि तीन अर्ब लाग्ने र क्षति भएका सम्पूर्ण संरचना स्थायी रुपमा पुन:स्थापना गर्न २० देखि २५ अर्ब रुपैयाँले लाग्ने मन्त्रालयले जानकारी दिएको छ ।

यातायात सञ्चालन हुन बाँकी राजमार्ग र खण्डहरु

अरनिको राजमार्गको लार्चा–कोदारी ५ किलोमिटर खण्डमा लिपिङ पुल र लार्चाको बेलिब्रीज बगाएको छ ।

बिपी राजमार्गको चौकीडाँडा–कालुढुंगा १८ किलोमिटर खण्डमा करिब १२ किलोमिटर सडक पूर्ण रुपमा बगेको छ ।

मध्यपहाडी राजमार्गको दोलालघाट–राकथुम ८० किलोमिटर खण्डका धरै ठाउँमा पहिरो गएर सडक अवरुद्ध भएको छ ।

कान्ति राजपथको घपेली–१३ किलोमिटर खण्डमा पहिरो गएको छ । साथै राजपथको बागमति पुलमा क्षति पुगेको छ ।

मेची राजमार्गको रमिते–फिदिम ८ किलोमिटर खण्डमा रमिते डाँडामा पहिरो गएको छ । साथै हेवा खोला पुल बगाएको छ ।

क्षति भएका पुल

अरनिको राजमार्गको लिपिङ र लार्चा बेलिब्रिज, बिपी राजमार्ग सुनकोशी नदिको खैरेनीटार, खुर्कोट, फोक्सिङटार, मेची राजमार्गको हेवा खेला पुल, कान्ति राजपथको बागमती पुल, माईपोखरी–सन्दकपुर ईलाम रातेखोला पुल र कान्ति लोपथको बागमती पुल बढीपहिरोबाट क्षति पुगेको छ।

 

Garima Bikas
Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार