क्षतिग्रस्त राजमार्गहरुको यथाशिघ्र मर्मत गरी यातायात सञ्चालन गर्न संसदीय समितिको निर्देशन

काठमाडौं । संसदीय समितिले क्षतिग्रस्त राजमार्ग तथा सडकहरुको यथाशिघ्र मर्मतसम्भार गरी यातायात सञ्चालन गर्न सरकारलाई निर्देशन दिएको छ ।

शुक्रवार प्रतिनिधि सभा अन्तर्गतको पूर्वाधार विकास समितिको बैठकले बाढी पहिरोबाट क्षतिग्रस्त राजमार्गहरुको यथाशिघ्र मर्मतसम्भार गर्न सरकारलाई निर्देशन दिएको हो । मर्मतसम्भार गरी यातायात सुचारु गर्न समितिको निर्देशन छ । त्यसैगरी मौजुदा सार्वजनिक खरिद कानूनको व्यवस्थाले खर्च गर्न नसक्ने भएको भन्दै विपद् क्षेत्रहरुमा फास्ट ट्रयाकमार्फत सडक पुन:निर्माण, बेलिब्रिज जडान लगायतका काम गर्न सरकारलाई निर्देशन दिइएको छ । त्यस्तै विपी राजमार्गमा अलपत्र परेका यातायात मजदुर र सर्वसाधारणको तत्काल उद्धार गर्न समितिले निर्देशन दिएको छ । समितिले मृतक तथा बेपत्ता व्यक्तिका परिवारलाई सरकारद्वारा प्रदान गर्ने राहत र क्षतिपूर्ति दशैँ अगाडी नै प्रदान गर्न सरकारलाई भनेको छ । त्यस्तै बाढी पहिरोका कारण बासस्थान गुमाएका व्यक्तिहरुलाई ७ दिनभित्र अस्थायी बसोवासको व्यवस्था गर्न र घाइतेको नि:शुल्क उपचार गर्न पनि सरकारलाई निर्देशन दिइएको छ ।

बैठकले गरेको निर्णय बारे जानकारी दिँदै समिति सचिव उदयकुमार भण्डारीले भने, ‘बाढी, पहिरोबाट क्षतिग्रस्त विपी राजमार्ग लगायत सबै राजमार्गहरुको सडकको यथाशिघ्र मर्मतसम्भार गरी यातायात सुचारु गर्न नेपाल सरकार भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई निर्देशन दिने ।

मौज्दुता सार्वजनिक खरिद कानुनको व्यवस्थाले खर्च गर्न नसक्ने भएकोले विशिष्टकृत स्थितिलाई मध्यनजर गरी विपद् क्षेत्रहरुमा फास्ट ट्रयाकमार्फत सडक पुन:निर्माण, बेलिब्रिज जडान लगायतका कामहरुलाई तिब्रता दिन नेपाल सरकारलाई निर्देशन दिने ।

बाढी, पहिरोबाट भएको क्षतिपछि सरकारले गर्नुपर्ने उद्धार, बेपत्ताको खोजी, घाइतेको उपचार, राहत, पुर्नस्थापना र भौतिक पूर्वाधारहरुको पुन:र्निमाणको कार्य तिव्र रुपमा अगाडी बढाउन र प्राकृतिक विपत्तिबाट धेरै क्षति हुन नदिन पूर्व तयारीका काम गर्न, विपि राजमार्गमा फसेका यातायात मजदुरहरु एवम् सर्वसाधारणहरुको तत्काल उद्धार गर्न, मृतक तथा बेपत्ता व्यक्तिका परिवारलाई सरकारद्वारा प्रदान गर्ने राहत र क्षतिपूर्ति दशैँ अगाडी नै प्रदान गर्न, बाढी पहिरोका कारण बासस्थान गुमाएका व्यक्तिहरुलाई अस्थायी बसोबासको व्यवस्था ७ दिनभित्र मिलाउन र घाइतेको नि:शुल्क र शिघ्र उपचार गर्न सरकारलाई निर्देशन दिने ।

दसैँमा घर जाने यात्रुहरुलाई सरकारले सहज रुपमा घर जाने वातावरण बनाउनका लागि राजमार्ग र सडकहरु मर्मत, सम्भार गर्ने र यातायात व्यवस्थालाई सुव्यवस्थित, सुलभ र सुरक्षित बनाउन भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई निर्देशन दिने ।’

त्यसैगरी दशैँमा घर जाने यात्रुहरुलाई सरकारले सहज रुपमा घर जाने वातावरण बनाउनका लागि राजमार्ग र सडकहरु मर्मतसम्भार गर्ने र यातायात व्यवस्थालाई सुव्यवस्थित, सुलभ र सुरक्षित बनाउन निर्देशन दिइएको समिति सचिव भण्डारीले जानकारी दिए । —न्युज एजेन्सी नेपाल

Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार