चाडवाडमा मात्रै बढी सक्रिय वाणिज्य विभाग

Garima_Business-Loan3

काठमाडौं । चाडवाड नजिकिए सँगै वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले बजार अनुगमन अनुगमन तीव्र बनाएको छ । विभागले बजार अनुगमनलाई तीव्र बनाएको भन्दै आफनो वेबसाइटमा कारबाही गरेका निकायहरुको नाम र जरिवाना समेत सार्वजनिक गरेको छ । विभागले चाडवाड अर्थात् दसैं, तिहार र छठ नजिक बजार अनुगमन तीव्र बनाए पनि बजारमा अखाद्य वस्तु, बढी मूल्य, नक्कली सामग्री लगायतका समस्याहरुको भने प्रशस्त बिगबिगी रहेको छ । अर्कोतर्फ उपभोक्ता अधिकारको संरक्षण समेत गर्नबाट विभाग चुकेको छ ।

विभागले अन्य समयभन्दा चाडवाडमा विशेष अनुगमन गर्ने गरेका विभागका महानिर्देशक राजन पौडेले बताएका छन् । चाडवाडको नाममा उपभोक्ता माथि ठगी होला भनेर यो समयमा अनुगमन तीव्र बनाउने गरेको उनको भनाई छ । चाडवाडमा मात्र नभई अन्य समयमा पनि विभागले निरन्तर अनुगमन गर्दै आएको पौडेलेको दाबी समेत रहेको छ । चाडवाडमा भने कमसल सामग्री, म्याद गुज्रेको सामग्री र कालोबजारी समेत हुन सक्ने भन्दै विभागले अनुगमनलाई तीव्र बनाएको हो ।
विभागले हाल स साना पसल, होलसेल व्यापारी देखि लिएर तारे होटलसम्म अनुगमन गरिरहेको छ । सोहि क्रममा आइतबार काठमाडौं महानगरपालिका वडा नम्बर १ स्थित याक एण्ड यति होटललाई जरिवाना र महानगरपालिका वडा नम्बर ८ मा रहेको सोल्टी होटल लिमिटेडलाई सामान्य निर्देशन दिएको छ । याक एण्ड यतिले अखाद्य सामग्रीको बेचवेखन गरेको पाइएको थियो । याक एण्ड यतिले मिति गुज्रेको जल्पेनो र स्लाइस्ट नामक अचार उपभोक्तालाई दिएका थिए । आइतबार मात्र दुई दर्जन व्यवसाय गर्ने संस्थालाई कारबाही गरिएको सूचना अधिकारी डिक बहादुर कार्कीले जानकारी दिए । कार्कीका अनुसार कारबाहीको क्रममा जरिवाना र सामान्य निर्देशन दिने काम गरिएको हो ।

चाडावाडमा मात्र अनुगमनलाई बढाएर प्रभावकारी नहुने उपभोक्ता अधिकारकर्मीहरु बताउछन् । दसैको समयमा बजार जानुहोस् बिक्रीमूल्यहरु मनलाग्दी रहेको छ, म्याद गुज्रेको सामग्री र ‘लेबलिङ’ फेरिएका लगायतका सामग्रीहरुको बेचबेखन प्रशस्त रहेको पाउन सकिने उपभोक्ता अधिकारकर्मीहरु बताउछन् । बजार नै अस्वस्थ्य भएको कारण उपभोक्ताले सस्तो मूल्यदेखि लिएर महँगो मूल्य पर्ने ठाउँमा सेवा लिदाँ गुणस्तरीय सेवा प्राप्त गर्न नसकेका उपभोक्ता अधिकारकर्मी माधव तिमिल्सिनाले बताए । उपभोक्ताले रकम तिरे सँगै गुणस्तरीय सेवा पाउन पर्ने कानुनी अधिकार भए पनि त्यसको कार्यान्वयन गर्नबाट सरकारी संयन्त्र चुकेको उनले बताए ।बजार अनुगमनको लागि वाणिज्यले मात्रै सम्भव नहुने र यसका लागि तीनवटै निकायका सरकारी संयन्त्र परिचालन भएमा बजार व्यवस्थित गर्न सक्ने उनले बताए । विभागले आइतबार काठमाडौं महानगरमा अवस्थित न्यू सिंह फ्रुट सेन्टर, आभुषण सेन्टर, कुमारी अर्नामेन्ट सेन्टर, ओम गणेश सप्लयार्स लगायतका दर्जन बढी व्यवसायीहरुलाई कारबाही गरेको छ । चाडवाडमा सक्रियरुपले बजार अनुगमन गर्दा पनि उपभोक्तालाई भने थोरै भए पनि राहत हुने बुझाई सर्वसाधारणमा रहेको छ ।

Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार