प्रतिपक्ष दलले सरकारलाई ज्ञापन पत्र बुझाउने

काठमाडौं । नेकपा (माओबादी केन्द्र)का अध्यक्ष पुष्प कमल दाहालको आव्डानमा प्रतिपक्षी दलहरूको बैठक शुक्रबार संसद भवनको ल्वोत्से हलमा सम्पन्न भएको छ । बैठकमा बाढीपहिरोपछिको अवस्था, सरकारका कामकारबाही, समसामयिक राजनीतिक घटनाक्रमलगायतबारे छलफल भएको थियो।

आजको बैठकमा रास्वपा, राप्रपा, एकीकृत समाजवादी, लोसपा, नागरिक उन्मुक्ति, आम जनता पार्टीका शीर्षसहित नेताहरू सहभागी रहेका थिए। बैठकले बाढीपहिरो प्रभावितलाई सरकारले उचित राहत दिन नसकेको निष्कर्ष सहित ज्ञापन पत्र बुझाउने निर्णय गरेको छ।

माओवादीका उपमहासचिव शक्तिबहादुर बस्नेतका अनुसार अहिलेको सरकार जनसरोकारका विषयमाभन्दा पनि पार्टीगत स्वार्थमा अल्झिएको महसुस भएको छ । ‘बाढीपहिरोमा परेकाहरूको खोज, उद्धार, उपचार र पुनर्स्थापनाका बारेमा सरकारले गम्भीरताका साथ काम गरेन,’ उपमहासचिव बस्नेतले भने, ‘आज यसबारे पनि समीक्षा भयो। सरकार उदासीन छ र जनताप्रति जवाफदेही भइराखेको छैन । जनताका सरोकारका विषय सम्बोधन गर्ने तिरभन्दा सरकार पार्टीगत स्वार्थलाई प्राथमिकतामा राखेर अघि बढेको देखिएको छ। यी सबै कुरालाई ध्यानमा राखेर प्रतिपक्षी दलहरूका तर्फबाट सरकारलाई ज्ञापन पत्र पेस गर्ने भन्ने भएको छ।’

उनले संसदको विशेष अधिवेशन बोलाउन माग गर्ने परिस्थिति पनि आउन सक्ने बताएका छन् ।

 

 

Garima Bikas
Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार