संस्कृतिभित्र राजनीतिको रोटी सेक्ने प्रवृत्ति गलत : प्रधानमन्त्री ओली

काठमाडौं ।  प्रधानमन्त्री केपी शर्मा ओलीले संस्कृतिभित्र राजनीतिको रोटी सेक्ने प्रवृत्ति गलत हुने बताएका छन्  । प्रधानमन्त्री निवास, बालुवाटारमा आज ‘नेपाल संवत् न्यूदयाँ ११४५ समारोह समिति’ले दिएको ध्यानाकर्षणपत्र बुझ्दै प्रधानमन्त्री ओलीले नेपालको मौलिक संस्कृति र परम्पराभित्र राजनीति घुसाएर भाँडभैलो गर्ने तरिका उचित नहुने बताएका हुन् ।

“राजनीति र अर्थतन्त्र बिग्रिएमा केही वर्षमा माथि उठाउन सकिन्छ तर संस्कृतिमा अधपतन भएमा यसलाई उठाउन वर्षौ लाग्न सक्छ । यसतर्फ हामी सचेत हुनुपर्छ ।’’, इन्द्रजात्राजस्ता पर्वहरुमा भएका कतिपय भड्कावपूर्ण गतिविधिप्रति लक्षित गर्दै प्रधानमन्त्री ओलीले नेवारी संस्कृतिभित्र आदिवासी, शास्त्रीय र अत्याधुनिक वाद्यवाधन तथा विशेष धूनहरु रहेको र यसको संरक्षणमा भइरहेका प्रयासको प्रशंसा गरेका थिए ।

सो अवसरमा समितिका अध्यक्ष एवं पूर्वमन्त्री राजेन्द्र श्रेष्ठले नेपाल संवत्लाई सरकारी कामकाजको प्रयोगमा ल्याउन २०८० कात्तिक २७ गतेको मन्त्रिपरिषद्बाट भएको निर्णयलाई सबै तह र निकायमा कार्यान्वयनका लागि निर्देशित गर्न माग गरेका थिए । उनले  राष्ट्र बैँकबाट निष्कासन हुने नोटमा नेपाल संवत्को पनि प्रयोग गर्न र विदेशस्थित नेपाली नियोगहरुमा नेपाल संवत्को नयाँ वर्षमा ‘नेपाल डे’ मनाउन आग्रह गरेका हुन् । राष्ट्रिय विभूति शंखधर साख्वाः प्रतिष्ठानका अध्यक्ष ज्ञानराम श्रेष्ठले सरकारी निकायमा नेपाल संवत्को प्रयोगको अवस्थाबारे अनुगमनको व्यवस्था गर्न सुझाव दिएका थिए । सरकारले २०६५ मा साख्वालाई राष्ट्रिय विभूति घोषणा गरेको थियो ।

यस वर्षको नेपाल संवत् ११४५ कछलाथ्व पारु यही कात्तिक १७ गते मनाइँदैछ । उक्त दिन बिहान भक्तपुरको मध्यपुर थिमीस्थित साख्याको प्रतिमामा माल्यार्पण र काठमाडौँको वसन्तपुरमा विशेष कार्यक्रम हुनेछ ।

Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार