विदेशको ज्ञान, सीप र पुँजी नेपाल भित्र्याउन गैरआवासीय नेपालीलाई – चन्द्र ढकालको आग्रह

Garima_Business-Loan3

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले विदेशमा रहेका नेपालीहरुले आर्जन गरेको ज्ञान, सीप र पुँजीलाई नेपालको विकास र सम्मृद्धिमा प्रयोग गर्न आग्रह गरेका छन् ।

गैरआवासीय नेपाली सङ्घ अमेरिकाद्धारा वासिङ्टनमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ढकालले नेपालमा लगानीका अनगिन्ती सम्भावना रहेका र अहिले लगानीको वातावरण पनि रहेकाले आफ्नो मातृभूमिमा लगानी भित्र्याउन आग्रह गरेका हुन्  ।   “प्रकृतिले नेपाललाई धेरै कुरा दिएको छ । तर त्यसको उपयोग र उपभोग गर्न हामी सफल हुन सकेका छैनौँ । देशलाई यतिखेर यहाँहरुले विदेशी माटोमा आर्जन गरेका ज्ञान, सीप र पुँजीको जरुरत छ । अहिले हामी जहाँ र जस्तोसुकै काम विशेषमा रहेका भए पनि भोलिको सन्ततिका लागि नेपालमै केही गर्नुपर्छ ।”  ढकालले कार्यक्रममा सम्वोधन गर्ने क्रममा भनेका छन् ।

उनले संकटका बेला सबैलाई आफ्नै जन्मथलो चाहिने प्रसंग उल्लेख गर्दै भन्नुभयो “कोरोना महामारीका बेला हामी सहरमा बसेका गाउँ फर्कियौँ, विदेशमा विभिन्न कारणले बसेका नेपालीहरु घर फर्किए । त्यो अवस्थाको स्मरण गर्दा हामी अहिले जहाँ जुन रुपमा भए पनि हाम्रो घर भनेको नेपाल नै रहेछ भन्ने लागेको थियो । त्यसैले पनि म यहाँहरुलाई यो आग्रह गर्दछु कि आफ्नै जन्मस्थानमा केही गर्नुपर्छ ।”

उनले संसारका कैयौँ देशमा रहेर गैरआवासीय नेपालीहरुले आर्जन गरेको ज्ञान, सीप तथा पुँजीको ठूलो महत्व रहेको बताउनुभयो । त्यसैले त्यसको केही प्रतिशत छुट्याएर नेपालमा लगानी गर्नसके गैरआवासीय नेपाली तथा नेपालकै लागि फाइदा पुग्ने उनको भनाइ छ  ।

गैरआवासीय नेपालीहरुले नेपालमा लगानी गर्न चाहेमा महासंघले आवश्यक सबै सहजीकरण गर्ने त छँदैछ नेपालका लगानीकर्ताहरु पनि सहकार्य गर्न इच्छुक रहेका उनको भनाई थियो ।

अध्यक्ष ढकालले नेपालमा अहिले जलविद्युत, पर्यटन, हस्पिटालिटी, सूचना प्रविधि तथा अन्य पूर्वाधारका क्षेत्रमा लगानीका सम्भावनाहरु रहेका उल्लेख गर्दै ।  कोरोना महामारीपछि मुलुकको अर्थतन्त्र लयमा फर्कने तरखरमा रहेको र नेपालमा अहिले पर्यटन क्षेत्र फस्टाउँदो अवस्थामा रहेकाले ती क्षेत्रमा लगानी गरेर मुनाफा आर्जन गर्न पनि आग्रह गरेका छन् ।

Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार