तिहारमा झिनियाँसँगै तयारी रोटीको माग उच्च

काठमाडौं । बागलुङमा तिहारको समयमा पछिल्लो समय झिनियाँ रोटीसँगै अन्य तयारी रोटीको खरिद बिक्री हुन थालेको छ । तिहारमा बढी प्रयोगमा आउने परिकारका रुपमा मानिएको झिनियाँ र चिनी रोटीसहित विभिन्न रोटीका परिकारको माग उच्च रहेको छ ।

झिनियाँसहित विभिन्न तयारी रोटी उत्पादन हुन थालेपछि यसअघि घरमा बनाउने रोटीका परिकारसमेत स्थानीयले खरिद गरेर लैजान थालेका छन् । अहिले तिहार सुरु भएसँगै बागलुङ बजारका विभिन्न महिला उद्यमीले उत्पादन गरेका रोटीका परिकार खरिद गर्नेको घुइँचो लाग्ने गरेको हो ।

बागलुङ नगरपालिका–२ स्थित मरेपिपलमा झिनियाँसहित सात प्रकारका परिकार बनाउँदै आएकी मिरा श्रेष्ठले तिहार सुरु भएसँगै झिनियाँ, चिनी, फिनी, भेलीलगायत परिकारको माग उच्च भएको बताइन् ।

एघार वर्षदेखि व्यावसायिक रुपमा रोटीका परिकार बनाएर बिक्री गर्दै आएकी उनले अन्य समयमाभन्दा तिहारमा बढी बिक्री हुने उल्लेख गरिन् । हिन्दू धर्मावलम्बीको दोस्रो ठूलो पर्व तिहारका अवसरमा बढी प्रयोग हुने झिनियाँ बनाउन यहाँका महिला उद्यमीलाई भ्याइनभ्याइ छ ।

ँपहिला झिनियाँको मात्रै व्यापार हुन्थ्यो, पछिल्लो समय झिनियाँमा रङ्ग मिसाउन छोडेपछि सेतो झिनियाँ मात्रै बिक्री गर्छौँ । चिनी तथा फिनी, तयारी सेल रोटीको माग उच्च छ । तयारी रोटी बनाउन झन्झटिलो हुने भएकाले बजारबाट खरिद गरेर लैजाने प्रचलन बढेको पाइएको छ”, श्रेष्ठले भनिन्, ँयस पटक चिनी, फिनी र सेल रोटीको माग बढी छ ।”

तिहारको समयमा झिनियाँको माग बढ्न थालेपछि श्रेष्ठसहित यहाँका अन्य घरेलु उद्यमी महिलालाई झिनियाँ बनाउन भ्याइनभ्याइ भएको छ । महिला उद्यमी श्रेष्ठले यस पटक सेतो झिनियाँ बजारमा ल्याएको बताउँदै रङ्ग मिसाएका परिकार बिक्री गर्न पालिकाले रोक लगाएपछि रङ्ग मिसाउन बन्द गरिएको उनले उल्लेख गरिन् ।

श्रेष्ठले दसैँतिहारको समयमा मात्रै तयारी रोटी बिक्री गरेर रु चारदेखि रु छ लाख आम्दानी हुने जानकारी दिइन् । तिहारको भाइटीकामा सप्तरङ्गी झिनियाँ कोसेलीका रुपमा दाजुभाइलाई खुवाउने परम्परा रहेपनि अन्य पूजाआजा र चाडपर्वमा पनि माग हुने गरेको उनले बताइन् ।

Garima Bikas
Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार