टिकटक नेपालमा सूचीकृत, थापा सम्पर्क व्यक्ति

काठमाडौं । सामाजिक सञ्जाल प्लेटफर्म टिकटक आधिकारिक रुपमा नेपालमा सूचीकृत भएको छ । सामाजिक सञ्जालको प्रयोगलाई व्यवस्थित गर्ने निर्देशिका, २०८० अनुसार टिकटक नेपालमा सूचीकृत भएको सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका प्रवक्ता गजेन्द्रकुमार ठाकुरले जानकारी दिए ।

‘टिकटकले प्रक्रिया पुर्याएर आएसँगै आधिकारिक रुपमा सूचीकृत भएको छ । तिहारअघि नै सूचीकृत प्रक्रिया सम्पन्न भएको हो,’ ठाकुरले भने ।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले सामाजिक सञ्जालको प्रयोगलाई व्यवस्थित गर्न २०८० मंसिरमा ११ मा सामाजिक सञ्जालको प्रयोगलाई व्यवस्थित गर्ने निर्देशिका, २०८० जारी गरेको थियो । सोही निर्देशिकामा भएको व्यवस्था अनुसार टिकटक आधिकारिक रुपमा नेपालमा सूचीकृत भएको हो ।

सूचीकृतसँगै टिकटकले प्वाइन्ट अफ कन्ट्याक्ट (सम्पर्क केन्द्र) का रामबहादुर थापालाई नियुक्त गरेको छ । अब सरकारले टिकटक भएका आएका विषय वस्तु (कन्टेन्ट)लाई नियमन गर्न थापा मार्फत टिकटकलाई सम्पर्क गर्नेछ ।

कुनै कटेन्ट वा कुनै विषयमा अनुसन्धान गर्नु पर्ने भएमा थापा मार्फत सरकारले टिकटकलाई अनुरोध गर्नेछ । सरकारले सोझौ पनि टिकटकलाई अनुरोध गर्न सक्छ । आधिकारिक प्रतिनिधि तोकिएकाले कम्पनीसँग सम्पर्क स्थापना गर्न सरकारलाई थप सहजता हुनेछ,’ ठाकुरले भने ।

सामाजिक सद्भाव र वातावरणमा खलल पुर्‍याउन भूमिका खेलेको भन्दै सरकारले २०८० कात्तिक २७ गते नेपालमा टिकटक बन्द गर्ने निर्णय गरिएको थियो ।

गत भदौ ६ गते टिकटकले आधिकारिक रुपमा नेपालमा सूचीकृत हुने र सरकारले तोकेको सर्त मान्ने सर्तमा प्रतिबन्ध खुल्ला गरिएको थियो ।

टिकटकको ग्लोबल हेडक्वाटर लस एन्जल्स र सिंगापुर छ । अन्य कार्यालयहरु लन्डन, डब्लिन, पेरिस, बर्लिन, दुबई, जाकार्ता, सियोल र टोकियोमा छन् ।

Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार