‘मह जात्रा’ प्रहसनको तयारी पुरा

काठमाडौं । मह जोडीले नेपालमा करिब दश वर्षपछि ‘मह जात्रा’ नामक प्रहसनमार्फत आफ्नो प्रस्तुति दिने प्रहसनका लागि रियल्सल लगायतका संम्पुर्ण तयारी पुरा भएको आयोजकले जनाएको छ । मिरा फाउन्डेसन र मानव सेवा आश्रमको सहयोगार्थ आयोजना गरिएको कार्यक्रम कात्तिक २९, ३० र मंसिर १, ४, ५, ६, १२, १३, १७, १८ गते नेपाल प्रज्ञा प्रतिष्ठानमा हुनेछ ।

प्रहसनमा किरण के.सी., राजाराम पौडेल, शिवहरी पौडेल, नरेन्द्र कंसाकार, शैलेन्द्र सिम्खडा, यमन श्रेष्ठ, दिनेश काफ्ले, विभुषा बस्नेतजस्ता ख्यातिप्राप्त हास्य कलाकारहरूको पनि प्रस्तुति रहनेछ । यस प्रहसनको प्रमुख विशेषता हास्य–व्यंग्यको माध्यमबाट समाजमा विद्यमान समसामयिक समस्याहरू र विविध मुद्दाहरूलाई उजागर गर्नु रहेको र नेपाली समाजका परम्परा, राजनीति, सामाजिक संरचना, र सांस्कृतिक कुरितीहरूलाई व्यंग्य शैलीमा प्रस्तुत गर्ने यो कार्यक्रम मह जोडीको विशिष्ट र मौलिक शैलीमा हुने हास्य कलाकार किरण के.सी ले वताएका छन् ।

मह जोडीले यसअघि प्रस्तुत गरेका लोकप्रिय प्रहसनहरू, जस्तै यमलोक, प्यारालाइसिस, अंशबन्डा, विज्ञापन, श्राद्ध, नेपाल बन्द, रिमोट कन्ट्रोल, वडा नं. ३४, दुई सय पाँच, नाता, र सपथ ग्रहणजस्ता प्रस्तुति नेपाली हास्य क्षेत्रमा अत्यन्त स्मरणीय रहेका छन्। हाल मदनकृष्ण श्रेष्ठ पार्किन्सन्स रोगबाट पीडित भए तापनि अभिनय, लेखन र गायनलाई निरन्तरता दिइरहेका छन्। उनले आफ्नो स्वास्थ्यले साथ दिएसंम्म कलाकारीता क्षेत्रमा लागिरहने बताउदै , साथी हरिवंशलाई सधैं साथ दिने प्रतिबद्धता पनि सार्वजनिक रूपमा प्रकट गर्दै आएका छन्।

दश वर्षको अन्तरालपछि फेरि मंचमा एकसाथ आउने मह जोडीले पुरानो शैलीको हास्य–व्यंग्यलाई पुनर्जीवित गर्ने उद्देश्य लिएको छ । यो प्रहसनमा मनोरञ्जनसँगै सामाजिक सन्देशको समिश्रण हुनेछ, जसले दर्शकलाई हसाउँदै समाजप्रति नयाँ दृष्टिकोण राख्न प्रेरित गर्नेछ । हालैका वर्षहरूमा नेपाली समाजमा भएका विविध राजनीतिक, सामाजिक, र सांस्कृतिक घटनाहरूको आलोचनात्मक दृष्टिकोण यस प्रहसनमा देख्न पाइनेछ, जसले दर्शकलाई हाँस्दै सोच्न बाध्य बनाउनेकुराको जानकारी प्रहसनका लागि रियल्सल गरिरहेका कलाकारहरुले दिए ।

‘मह जात्रा’ कार्यक्रम मह संचार र सुश्री मिडिया प्रा.लि.को सहकार्यमा हुने प्रहसनको टिकट खल्ती एपमार्फत खरिद गर्न सकिनेछ। ‘मह जात्रा’ नेपाली हास्य–व्यंग्य क्षेत्रमा एउटा महत्त्वपूर्ण कोसेढुंगा सावित हुने आयोजकको अपेक्षा छ।

Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार