दुई ब्रोकर एशोसिएशन मर्ज हुदै

काठमाडौं । धितोपत्र दलाल व्यवसायी (ब्रोकर) कम्पनीहरूको दुईओटा संगठन एकआपसमा गाभिने भएका छन् । स्टक ब्रोकर एशोसिएशन अफ नेपाल र धितोपत्र ब्रोकर्स एशोसिएशन नेपालबीच बुधबार मर्जरसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको हो । समझदारीपत्रमा स्टक ब्रोकर एशोसिएशन अफ नेपालका अध्यक्ष धर्मराज सापकोटा र धितोपत्र ब्रोकर्स एशोसिएशन नेपालका अध्यक्ष सागर ढकालले हस्ताक्षर गरेका छन् ।

बुधबार भएको सम्झौता अनुरुप ब्रोकर एशोसिएशन स्टक ब्रोकर एशोसिएशन अफ नेपाललाई सम्पूर्ण धितोपत्र व्यवसायी, धितोपत्र दलाल तथा धितोपत्र व्यापारीको साझा व्यावसायिक संगठनको रूपमा अघि बढाउने सम्झौता दुई संस्थाबीच भएको हो । नयाँ ब्रोकर एशोसिएशनका रूपमा दर्ता भएको धितोपत्र ब्रोकर्स एशोसिएशन नेपालमा सदस्य रहेका सबै धितोपत्र दलाल व्यवसायीलाई स्टक ब्रोकर एशोसिएशन अफ नेपालले एकमुष्ट सदस्यता दिनुका साथै धितोपत्र ब्रोकर्स एशोसिएशन नेपाललाई संस्थागत सामाजिक उत्तरदायित्व र लगानीकर्ता शिक्षा तथा सचेतनाअन्तर्गतका कार्यक्रम सञ्चालन गर्ने अंगका रूपमा अगाडि बढाउने समझदारीपत्रमा उल्लेख छ । दुवै एशोसिएशनमा हाल सदस्य नभएका धितोपत्र व्यवसायीलाई स्टक ब्रोकर्स एशोसिएशन अफ नेपालको सदस्यता लिन आह्वान तथा सहजीकरण गरिने बुँदा पनि समझदारीपत्रमा समेटिएको छ ।

स्टक ब्रोकर एशोसिएशन अफ नेपालमा पुराना ५० ब्रोकर कम्पनी सदस्य छन् भने ४२ नयाँ ब्रोकर लाइसेन्स वितरण भए पनि हालसम्म २२ कम्पनीले मात्र धितोपत्र ब्रोकर्स एशोसिएशनमा सदस्यता लिएको एशोसिएशनका महासचिव कृष्ण गिरीले जानकारी दिए । चारबुँदे सहमतिअनुसार हालसम्म सदस्यता नलिएका नयाँ ब्रोकर कम्पनीलाई समेत सदस्यता लिन सहजीकरण गरिने गिरी बताए । यो सँगै ३१ वर्षको इतिहास बोकेको पुरानो स्टक ब्रोकर एशोसिएशन अफ नेपाललाई सम्पूर्ण धितोपत्र कामकारीबाही अघि बढाउने जिम्मेवारी प्राप्त भएको छ ।

Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार