वर्ल्डलिंक टेलिकम्युनिकेसनले तिर्यो २ अर्ब १५ करोड बक्यौता

काठमाडौं । ग्राहक संख्याका आधारमा नेपालको सबैभन्दा ठूलो इन्टरनेट कम्पनी वर्ल्डलिंक टेलिकम्युनिकेसन आफ्नो सम्पूर्ण बक्यौता रकम नेपाल दूरसञ्चार प्राधिकरणलाई भुक्तानी गरेको छ । वर्ल्डलिंकले रोयल्टी र आरटीडीएफ बापतको २ अर्ब १५ करोड १४ करोड ७ हजार ५५२ रुपैयाँ भुक्तानी गरेको हो ।

वर्ल्डलिंकले आज (शुक्रबार) एकमुष्ठ सबै बक्यौता भुक्तानी गरेको प्राधिकरणका प्रवक्ता सन्तोष पौडेलले जानकारी दिए ।

वर्ल्डलिंकले रोयल्टी १ अर्ब ३८ करोड ९० लाख १२ हजार २२५ रुपैयाँ र आरटीडीएफ ७६ करोड २३ लाख ९५ हजार २७ रुपैयाँ भुक्तानी गरेको हो ।

वर्ल्डलिंकले आफ्नो कुनै बाँकी बक्यौता नभएको र कम्पनीले नयाँ अनुमति पत्रको प्रकृया समयमै शुरु गरेको भन्दै अनुमति पत्र दिन माग गर्दै रिट दायर गरेको थियो । तर अदालतले बक्यौता बेरुजुमा वर्ल्डलिंकको विपक्षमा फैसला गरे पछि वर्ल्डलिंकले एकमुष्ठ बक्यौदा तिरेको हो । रकम बुझाएसँगै कम्पनीको नयाँ अनुमतिपत्र पाउने बाटो खुलेको छ ।

वर्ल्डलिंकले २०५५ चैत १६ गते इन्टरनेट सेवा प्रदायकको अनुमति पत्र पाएको थियो । कानुन अनुसार दूरसञ्चारको लाइसेन्सको अधिकतम अवधि २५ वर्ष हुन्छ । वर्ल्डलिंकको लाइसेन्स अवधि २०८० चैत १५ मा सकिसकेको छ ।

‘वर्ल्डलिंकले आफ्नो दाहित्वको बक्यौदा भुक्तानी गरेको छ । अब प्राधिकरणबाट हुने नियमानुसारको काम अघि बढ्ने छ,’ पौडेलले भने ।

हाल मर्कन्टाइल कम्युनिकेसन्स प्रालि, वर्ल्डलिंक कम्युनिकेसन्स लिमिटेडको इन्टरनेट सेवा र नेटवर्क सेवाको अनुमति पत्रको अवधि २५ वर्ष पुरा भएको छ भने हिमालयन अनलाइन (हन्स) को इन्टरनेट सेवा तथा सीएनसी अर्थात कम्युनिकेसन एण्ड कम्युनिकेसन नेपाल प्रालिको इजाजत पत्रको अवधि २५ वर्ष पुगिसकेको छ।

वर्ल्डलिंक कम्युनिकेसन्सले एकमुष्ठ रकम तिरेसँगै अन्य ८ इन्टरनेट सेवा प्रदायकहरुलाई बाँकी बक्यौता रकम एकैपटक तिर्न दबाब पर्ने देखिन्छ।

Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार