भारतसँगको व्यापार समस्या समाधानका लागि प्रस्तावित राजदूत शर्मालाई प्रतिवेदन हस्तान्तरण

काठमाडौं । नेपाल–भारत उद्योग वाणिज्य संघले भारतका लागि प्रस्तावित राजदूत डा. शंकर शर्मासँग अन्तरक्रिया कार्यक्रम गरेको छ।

शुक्रबार संघले प्रस्तावित राजदूत डा. शर्मासँग नेपाल–भारत वाणिज्यको क्षेत्रमा विद्यमान विभिन्न समस्या तथा गरिनुपर्ने पहलहरूबारे अन्तरक्रिया गर्नुका साथै विशेष प्रतिवेदन दस्ताबेजसमेत बुझाएको छ।

संघका अध्यक्ष सुनिल केसीले डा. शर्माद्वारा अघिल्लो कार्यकालमा गरेका पहलकदमीहरू सकारात्मक रहेको उल्लेख गर्दै अझै नेपाल–भारतबीचको द्विपक्षीय व्यापारको क्षेत्रमा समस्याहरू बाँकी नै रहेको बताए।

भारत एक विशाल अर्थतन्त्र भएको र नेपालको अत्यधिक ब्यापार पनि भारतसँगै भएका कारण पनि द्विपक्षीय व्यापारका क्षेत्रमा समस्याहरु आइरहने भन्दै उनले समाधानमा राजदूत लगायत विभिन्न निकायको सक्रियताको अपेक्षा रहेको बताए।

केसीले समस्याहरूको निराकरण गर्नको लागि नेपालको तर्फबाट सक्रियतापूर्वक प्रभावकारी प्रयासहरु हुनुपर्नेमा ध्यानाकर्षण पनि गराए। केसीले छलफलबाट आएका विषयहरूले प्रस्तावित राजदूतको आगामी कार्यकाललाई सफल बनाउन र नेपालका भारतसँगको ब्यापारको स्थितिलाई सकारात्मक रुपमा परिवर्तन गर्न सहयोग पुग्ने विश्वास पनि व्यक्त गरे।

नेपाल–भारत द्विपक्षीय व्यापार तथा पारवहनको क्षेत्रमा विद्यमान चुनौती लगायत समाधानका उपयाहरू बारे छलफल गरिएको संघले जनाएको छ।

भन्सार जाँचपास, दुई देशको भन्सारहरुमा हार्मोनाईज्डकोडको मिलान, भारतीय पोर्टहरुमा प्रस्तुत गर्नपर्ने बस्तु आयात सम्बन्धी कागजातहरु, कन्टेनरहरूको अतिरिक्त शुल्क लगायत कन्टेनरहरुको अभाव, ईसिटीएस लगाए बापतको अतिरिक्त शुल्कको भार, थप पोर्टहरुको उपलब्धता तथा सहजताको लागि पहल, विराटनगर–जोगबनी रेलसेवाको प्रभावकारी सञ्चालनको लागि आवश्यक कोडिङको व्यवस्थाका लागि पहल गर्न संघले राजदूत शर्मालाई सुझाव दिएको थियो।

त्यसैगरि, थप ड्राईपोर्ट तथा आईसिपीको निर्माण तथा सञ्चालनका लागि पहल, भारतीय बजारमा नेपाली उत्पादनहरुको सहज पहुँचका लागि सहजीकरण, कृषीजन्य नेपाली उत्पादनहरुको निकासीका लागी क्वारेन्टाइन चेकपोष्टको सहज व्यवस्था, नेपाली प्रयोगशालाको परिक्षण प्रमाणपत्रलाई मान्यता प्रदान गरिनुपर्ने, नेपालमा ठूला मेशीनरी सामानहरु ओभरहल गर्दा मर्मतका लागि भारत पठाउन जुन समस्या छ त्यसलाई कसरी निराकरण गर्न सकिन्छ– बैंक ग्यारेण्टी र बोण्डको माध्यमबाट हल गर्न सकिन्छ कि भन्नेबारे पनि संघले आफ्ना धारणा राखेको छ।

त्यस्तै, ३० प्रतिशतको मूल्य अभिबृद्धिलाई पूनरविचार गर्ने, वाणिज्य सन्धिमा भारतबाट नेपालमा नेपालमा भारतीय मूद्रामा निकासी गरे पनि परिबत्र्य विदेशी मूद्रामा निकासी गरे सरहको निकासी सुविधा दिने तथा मूल उत्पत्तिको नियममा परिमार्जन, व्यापार प्रक्रियाहरू सरल बनाउने, र पारस्परिक मान्यता सम्झौता कार्यान्वयन गर्नुपर्ने जस्ता विषयहरुमा पहल गर्न पनि राजदूतलाई सुझाव दिइएको संघले जनाएको छ।

छलफल कार्यक्रममा सदस्यहरुले हालै भारतीय पक्षबाट केही नेपाली वस्तुहरुको आयातको लागि बिआईएस सर्टिफिकेसन लिन पर्ने भनेर रुकावट गर्ने गरेको, उक्त सर्टिफिकेसनको लागि आवश्यक सम्पूर्ण प्रक्रिया पूरा गरेतापनि सम्बन्धित भारतीय अधिकारीहरूबाट उद्योग निरीक्षणमा आइनदिने जस्ता कारण समस्या उत्पन्न हुने गरेको बताउँदै आगामी दिनहरूमा त्यस्तो हुन नदिन पहल गरिदिन आग्रह गरिएको थियो।

प्रस्तावित नेपाली राजदूत डा. शर्माले संघले बिगत लामो समयदेखि नै नेपाल–भारत बीचको द्विपक्षीय वाणिज्य तथा समग्र आर्थिक सम्बन्धको प्रबद्र्धनमा उल्लेखनीय कार्य गर्दै आएको स्मरण गरे।

उनले अन्तरक्रिया कार्यक्रममा प्राप्त सल्लाह एवं सुझाव सहितको कार्यपत्र दस्तावेजले आगामी दिनमा नेपाली राजदूत अथवा नेपाली प्रतिनिधिको रुपमा निभाउनुपर्ने भूमिका सवल रुपमा निभाउन सहयोग पुग्ने विश्वास लिएको बताए।

संघका निवर्तमान अध्यक्ष सिर्जना राणाले नेपाल–भारत उद्योग वाणिज्य संघले बिगतमा नेपालमा भारतीय पर्यटनको प्रबद्र्धनको लागि प्रयास गरेको उल्लेख गर्दै आगामी दिनमा पर्यटन प्रवर्द्धनको लागि नेपाली राजदूतावासको भूमिका उल्लेखनीय रहने हुनाले सो विषय प्रस्तावित नेपाली राजदूत डा. शर्मासँग आग्रह गरिन्।

अन्तरक्रिया कार्यक्रममा संघका उपाध्यक्ष रवि रायबरमले धन्यवाद ब्यक्त गरेका थिए।

Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार