चार महिनामा १७ अर्ब विदेशी लगानी प्रतिवद्धता

काठमाडौं । पछिल्लो समय विदेशी लगानी प्रतिवद्धता रकम बढ्दै गएको छ । उद्योग विभागका अनुसार चालु आर्थिक वर्षको पहिलो त्रैमासमा विदेशी लगानीकर्ताले १७ अर्ब ३ करोड ७७ लाख ५६ हजार लगानी प्रतिवद्धता जनाएका छन् । सामान्यतवरबाट आएको (कागजीरुपमा) उक्त लगानी प्रतिवद्धता १५४ वटा उद्योग र ७ हजार ६६७ वटा उद्योग तथा व्यवासायका लागि हो ।

लगानी प्रतिवद्धता आएको मध्ये १५१ वटा सना, १ वटा मध्यम र २ वटा ठूला उद्योग रहेको विभागले जनाएको छ । लगानी प्रतिवद्धता सबैभन्दा बढी पर्यटन, सेवा, उत्पादन लगायतका उद्योग तथा व्यवसायका लागि रहेको छ । समीक्षा अवधिमा ११३ वटा पर्यटनमुलक, २० वटा सेवामुलक, १३ वटा उत्पादनमुलक, ७ वटा सूचना प्रविधिमुलक, कृषिमुलक २ वटा र खनिजमुलक २ वटा उद्योग तथा व्यवसायका लागि लगानी प्रतिवद्धता जनाएका हुन् ।

समीक्षा अवधिमा विदेशी लगानीकर्ताहरुले नेपालमा रहेको उद्योगको लागि सेयर खरिद सम्झौता (एसपीए) र साझेदारी सदस्यता सम्झौता (एसएसए) गरेको छन् । सामान्य तवरबाट आएको लगानी प्रतिवद्धता मध्ये चालू आर्थिक वर्ष कार्तिकमसान्तसम्म २५ वटा उद्योगको लागि १ अर्ब १३ करोड ६१ लाख १५ हजार रुपैयाँबराबरको एसपीए र एसएसए गरिएको छ । कार्तिकमा मात्र १ वटा उद्योगका लागि २ करोडबराबरको एसपीए र एसएसए सम्झौता गरिएको छ । चालू आर्थिक वर्षको कार्तिकसम्म १३ वटा र कार्तिकमा ३ वटा उद्योगको प्रविधि हस्तान्तरण सम्झौता (टीटीए) गरिएको छ ।

समीक्षा अवधिमा सामान्यतवरबाट मात्र नभई स्वचालित मार्गबाट समेत विदेशी लगानी प्रतिवद्धता रकम आएको विभागका निर्देशक अर्जुन सेन ओलीले जानकारी दिए । विभागका अनुसार कार्तिकसम्म स्वचालित मार्गबाट १०९ वटा उद्योग तथा व्यवासायका लागि १ अर्ब ६२ करोड ७३ लाख ५७ हजार लगानी प्रतिवद्धता आएको छ ।

स्वचालित मार्गबाट आएको लगानी प्रतिबद्धतामा सबैभन्दा धेरै सूचनाप्रविधि, पर्यटनमूलक र उत्पादनमुलुक उद्योग तथा व्यवसायका लागि लगानी प्रतिवद्धता आएको छ । सूचनाप्रविधिमा ४३ करोड २२ लाख ५६ हजार, पर्यटनमूलकमा ४२ करोड ९० हजार, उत्पादनमुलकमा ३५ करोड ५० लाख, सेवामुलकमा ३८ करोड र पूर्वाधारमुलुकमा ४ करोड १० हजार लगानी प्रतिबद्धता आएको छ । उक्त लगानी प्रतिबद्धता ८० वटा सूचनाप्रविधिमुलक, १३ वटा पर्यटनमूलक, ८ वटा सेवामूलक र २ वटा पूर्वाधारमूलक उद्योगको लागि आएको हो ।

विदेशी लगानीकर्ताले विभागमार्फत भने न्यूनतम २ करोड रुपैयाँदेखि ६ अर्ब रुपैयाँसम्मको लगानी भित्र्याउन सक्नेछन् । ६ अर्ब रुपैयाँभन्दा माथिका लगानी भने लगानी बोर्डमार्फत स्वीकृत गरिन्छ । विदेशी लगानीकर्तालाई प्रत्यक्ष विदेशी लगानी तथा हस्तान्तरण ऐन, २०७५ ले नेपालमा रहेको उद्योग क्षेत्रमा लगानी गर्ने अधिकार प्रदान गरेको छ । विभागमा कृषि तथा वन पैदावरमा आधारित, ऊर्जामूलक, सूचना, प्रसारण तथा सञ्चार प्रविधि, उत्पादनमूलक, सेवामूलक र पर्यटनमूलक लगायतका उद्योग दर्ता हुन्छन् ।

दर्ताका साथै विदेशी लगानीको हकमा पुँजी समेत तोकिएको छ । राष्ट्र बैंकअन्तर्गत प्रत्यक्ष विदेशी लगानी शाखाका अनुसार नेपालमा विदेशी लगानीको लागि न्यूनतम सीमाप्रति विदेशी लगानीकर्ता पाँच करोड रुपैयाँ तोकिएको छ भने अधिकतम सीमा तोकिएको छैन । ‘औद्योगिक व्यवसाय ऐन–०७५’ अनुसार १० करोड रुपैयाँसम्म स्थिर पुँजी भएको साना, १० करोड रुपैयाँदेखि २५ करोड रुपैयाँसम्मको स्थिर पुँजी भएको मझौला र २५ करोड रुपैयाँभन्दा बढी स्थिर पुँजी भएको ठूला विभागले दर्ता गर्छ ।

Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार