नक्कली फेसबुक आइडीबाट २७ लाख ठगी गर्ने युवक पक्राउ

काठमाडौं । नक्कली फेसबुक आइडी बनाएर बिहेको प्रलोभन देखाउँदै ठगी गरेको आरोपमा एक युवक पक्राउ परेका छन्।

पक्राउ पर्नेमा तनहुँ आँबुखैरेनी गाउँपालिका-५ घर भई हाल काठमाडौँ चन्द्रागिरि नगरपालिका वडा ७ हाईभिजिन कोलोनी बस्ने रुद्र बहादुर गुरुङ रहेका छन् ।

उनलाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले चन्द्रागिरिको हाईभिजन कोलोनीबाट आइतबार पक्राउ गरेको हो।

उनले फेसबुकमा केटी साथी बनाउँदै आफू सिंगापुरे लाहुरे भएको परिचय दिन्थे। आफूसँग बिहे गरे सिंगापुर लैजाने भन्दै उनले प्रलोभन समेत देखाउँथे। केटीहरूलाई विश्वासमा दिलाउनका लागि कागजातहरू समेत पठाउने गरेको खुलेको छ।

गुरुङले काठमाडौँ चितवनको विभिन्न स्थानमा आफ्नो हुलिया एवं परिचय परिवर्तन गरी भेट्न बोलाई चेक तथा नगद गरी १६ लाख ८३ हजार ६०० साथै विभिन्न व्यक्तिहरूको नाममा रहेका २६ वटा ई-सेवा वालेटहरूमा पटक-पटक गरी १० लाख ९९ हजार६०० गरी जम्मा २७ लाख ८३ हजार २०० रकम ठगी गरेको थियो ।

उनलाई ठगी सम्बन्धी कसूरमा आवश्यक अनुसन्धान एवं कारवाहीको लागि जिल्ला प्रहरी परिसर, भद्रकाली, काठमाडौँ पठाइएको अपराध अनुसन्धान कार्यालयका सूचना अधिकारी उपरीक्षक काजी कुमार आचार्यले बताए ।

Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार