काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईं पक्राउ परेका छन् । मंगलबार दिउँसो सीआईबीको टोलीले भक्तपुरको कमेरोटारस्थित उनकै निजी निवासबाट पक्राउ गरेको हो ।
प्रधानमन्त्री केपी शर्मा ओलीबारे विवादास्पद बयान दिएका कारण उनी पक्राउ परेका हुन् । प्रसाईंले हालै कम्बोडियाको एक कम्पनीमा प्रधानमन्त्रीको लगानी रहेको दाबी गरेका थिए ।
उनले सामाजिक सञ्जालमार्फत प्रधानमन्त्रीको स्मार्ट एजियाटा कम्पनीमा २१ करोड (साढे ३२ अर्ब रूपैयाँभन्दा बढी) अमेरिकी डलर लगानी रहेको बताएका थिए ।
प्रसाईंको फेसबूक पेजबाट भिडिओ रिपोर्ट सार्वजनिक गरिएको थियो, जसमा उनले प्रधानमन्त्री ओलीमाथि विभिन्न आरोप लगाएका छन् । तर, उक्त दाबी आधिकारिक रुपमा पुष्टि हुन सकेको छैन ।
प्रसाईंले भिडिओमा प्रमाण भन्दै केही कागजातहरू देखाएका छन् । जसमा १४ मे २०१९ मिति राखिएको एउटा कागजमा लगानी रकम २१ करोड यूएसडी तथा लगानीकर्ता Khadka Prasad oli (KP Oli) उल्लेख छ ।
ओलीको नक्कली हस्ताक्षर रहेको अर्को कागज पनि प्रमाणका रूपमा देखाइएको छ, जहाँ उनको नाम लेखिएको छ, Khadga Prasad oli (KP Oli) । यसरी दुईवटा कागजमै नामको स्पेलिङ फरक छन्, यसबाट थाहा हुन्छ सोझै उक्त कागजहरु नक्कली हुन् ।
प्रसाईंले यसअघि पनि रिस उठेका मान्छेलाई अपुष्ट आरोप लगाउँदै बदनाम गर्ने गरेका छन् ।