एक वर्षमा गभर्नर अधिकारीको तलब भत्ता ६५ लाख, भत्ता र सुविधा मात्रै ४५ लाख

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले एक वर्षको अवधिमा करिब ६५ लाख रुपैयाँ तलब, भत्ता तथा अन्य सुविधा लिएका छन् । राष्ट्र बैंकले मंगलबार प्रकाशित गरेको आर्थिक वर्ष २०८०/८१ को वार्षिक विवरण अनुसार गभर्नर अधिकारीले तलब, भत्ताबापत ६४ लाख ६२ हजार ७१ रुपैयाँ बराबरको सुविधा प्राप्त गरेको देखिन्छ ।

अधिकारीले एक वर्षको अवधिमा १६ लाख ३२ हजार तलब, सञ्चालक समितको बैठक भत्ता तीन लाख ३३ हजार र अन्य सेवा तथा सुविधा बापत ४४ लाख ९७ हजार ७१ रुपैयाँ प्राप्त गरेका छन् ।

राष्ट्र बैंक सञ्चालक समिति सदस्यलाई प्रतिबैठक ९ हजार रुपैयाँ भत्ताका साथै इन्धन, सवारी मर्मत, टेलिफोन, पत्रपत्रिका, इन्टरनेट, चालक र स्वास्थ्य सुविधा पनि दिइएको हुन्छ ।

राष्ट्र बैंकको सञ्चालक समितिमा गभर्नर, डेपुटी गभर्नरद्वय र अर्थसचिवका साथै ३ जना अन्य सदस्य हुन्छन् ।

राष्ट्र बैंकका सञ्चालकहरु मध्ये सबैभन्दा बढी तलब, भत्ता तथा सेवा सुविधा गभर्नर अधिकारीले लिएका छन् । तलब, भत्ता तथा सेवा सुविधाका आधारमा दोस्रो स्थानमा डेपुटी गभर्नर डा. निलम ढुंगाना तिम्सिनाले रहेकी छिन् । उनले ६३ लाख १६ हजार तलब, भत्ता तथा सेवा सुविधा लिएकी छिन् ।

तेस्रो स्थानमा अर्का डेपुटी गभर्नर बम बहादुर मिश्र छन् । उनले ५८ लाख ४६ हजार रुपैयाँ तलब तथा सुविधा लिएका छन् ।

Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार