ताल भाडामा लिएर सिङ्गडा र माछा खेती

काठमाडौं । बाँकेको जानकी गाउँपालिका –२ नवाजी गाउँका ४२ वर्षीय किसान प्रेम कश्यपले गाउँपालिकासँग भाडामा लिएको तालबाट दोहोरो आम्दानी गर्दै आएका छन् ।

किसान कश्यपले जानकी गाउँपालिकासँग गाउँमै रहेको १५ कठ्ठाभन्दा बढी क्षेत्रफल भएको ताल भाडामा लिएर वर्षौँदेखि सिङ्गडा खेती र माछापालन व्यवसाय गर्दै दोहोरो आम्दानी लिएको बताए ।

”बाउ बाजेका पालादेखि नै हामीले सिङ्गडा खेती गर्दैआएका छौँ, यो हाम्रो पुर्खादेखि गर्दै आएको व्यवसाय हो, सिङ्गडा खेतीबाट अति राम्रो आम्दानी हुँदै आएको छ” कश्यपले भने, ”१५ कठ्ठाभन्दा बढी तलाउको क्षेत्रफल छ, गाउँपालिकासँग वार्षिक २० हजार रुपियाँ तिर्नेगरी भाडामा लिएको छु ।”

असार महिनामा तलाउमा सिङ्गडाको बीउ रोप्ने र कात्तिक मङ्सिर महिनामा त्यसको फल उत्पादन हुने उनले बताए । ”सिङ्गडाको बीउ असार महिनातिर पानीमा हाल्छौँ, कात्तिक मङ्सिर महिनामा उत्पादन हुन्छ, अन्य बालीलाई जस्तो धेरै दु:ख, मिहिनेत र लगानी गर्नुपर्दैन ।”

कश्यपले भने, ”रोपेपछि २–३ पटकसम्म आवश्यकताअनुसार किराबाट जोगाउन विषादी हाल्छौँ, भिटामिन पनि हाल्छौँ, उत्पादन पनि राम्रो हुन्छ र कमाइ पनि राम्रै छ ।”

”अहिले सिङ्गडाको सिजन हो, सिजनभर ६० क्विन्टलभन्दा बढी सिङ्गडा बिक्री गर्छु, एक पटक बीउ लगाएपछि सिजनभरमा तीन पटकसम्म टिप्न मिल्छ, क्विन्टलको छ हजार रुपियाँका दरले बिक्री भइरहेको छ” कश्यपले भने, ”बिक्री गर्न कुनै समस्या छैन, ठेला लगाएर व्यापार गर्ने खुद्रा व्यापारीहरु यहीँ आउँछन्, माग बढी आएको बेलामा ४–५ जना ज्यालादारी मजदुर लगाएर टिपाउँछु, उनीहरुलाई दैनिक एक हजार रुपियाँ ज्याला दिनुपर्छ, एक जनाले एक दिनमा डेढ क्विन्टलसम्म सिङ्गडा टिप्न सक्छन् ।”

चाडवाडका बेलामा अन्य दिनभन्दा बढी माग हुने गरेको कश्यपले बताए । ”अन्य समयभन्दा चाडवाडका बेलामा बढी माग हुन्छ, चाडवाडको समयमा स्थानीय गाउँहरुमा स्थानीय मेला लाग्ने गर्दछ, मेलामा धेरै बिक्री हुने गर्दछ । चाडवाडमा ब्रत बस्नेहरुले पनि यसलाई उमालेर, पिसेर हलुवा बनाएर खाने गरेका छन् ।”

भारतबाट आउने सिङ्गडाले गर्दा समस्या उत्पन्न हुने गरेको उनको भनाइ छ । ”भारतबाट भन्सार छली गरेर, चोरीको बाटोबाट सिङ्गडा नेपालगन्जमा बेच्न ल्याउँछन्, उनीहरुको मूल्य सस्तो पर्छ, भारतमा १५ सय दुई हजार रुपियाँ क्विन्टलसम्म पाइन्छ ।” कश्यपले भने, ”भारतीय सिङ्गडा बजारमा सस्तो पाइने र हाम्रो महङ्गो पर्ने हुँदा उनीहरुसँग हामीले प्रतिस्पर्धा गर्न सक्दैनौँ, यसकारणले गर्दा केही समस्या त उत्पन्न भएको छ ।”

किसान कश्यपले तलाउमा सिङ्गडाका साथै माछापालन समेत गर्दै आएका छन् । ”तलाउमा मैले सिङ्गडाका साथै माछापालन गर्दै आएको छु, यसले मलाई एकै ठाउँबाट डबल आम्दानी दिएको छ, माछा बिक्री गर्न पनि कुनै समस्या छैन ।” उनले भने, ”मेरो ७–८ जनाको परिवार छौँ, सबै सदस्यहरुले यो व्यवसायलाई समय दिनुभएको छ, सबै जनाले काम गर्छौँ ।”

उत्पादन भएको सिङ्गडा नगदमा मात्र बिक्री नभएर सामानसँग पनि साट्ने गरेको उनले बताए । ”मैले नगदमा मात्र बिक्री गर्दैन, गाउँमा धानसँग पनि साटफेर गर्छु, दुई भाग धान बराबर एक भाग सिङ्गडा साट्ने गरेको छु” उनले भने, ”यसरी साटिएको धानले घरमा खानका लागि प्रयोग हुने गर्दछ, घरखर्च चलाउन समेत सहज बनेको छ ।”

बाँकेका विभिन्न तलाउ तथा पोखरीहरुमा सिङ्गडा खेती गर्ने गरिन्छ । बाह्रै महिना उत्पादन नहुने हुनाले सिजनका बेलामा यसको माग बढी हुने गरेको छ । सिजनका बेलामा किसानले यस खेतीबाट राम्रो आम्दानी गर्दैआएका छन् ।

गोरखापत्रबाट
Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार