देशभरका धर्मकाँटालाई डिजिटल बनाइँदै

काठमाडौं । देशभरका सडक पूर्वाधारमा तोकिएकोभन्दा बढी भार बोकेको वा नबोकेको भन्ने पत्ता लगाउने प्रणालीका रुपमा रहेको धर्मकाँटालाई अब क्रमशः डिजिटल बनाइँदै लगिने भएको छ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहाल, धुनिवेशी नगरपालिकाका प्रमुख बालकृष्ण आचार्य र नेपाल ट्रक यातायात व्यवसायी महासंघका अध्यक्ष हिरालाल श्रेष्ठले मंगलबार संयुक्त रुपमा धादिङको धार्केमा रहेको धर्मकाटालाई डिजिटलाइजेशनको गर्दै सो घोषणा गरिएको हो ।

महासंघको व्यवस्थापनमा रहेको यो धर्मकाँटाको डिजिटल रुपान्तरणले ‘ओभरलोड’ नियन्त्रणमा मद्दत पुग्ने विश्वास महासंघले व्यक्त गरेको छ । धर्मकाँटालाई डिजिटल बनाउने उद्देश्यसँगै ओभरलोडका कारण सडकमा हुने क्षति रोक्न र यातायात व्यवसायलाई थप व्यवस्थित बनाउन यो कदम चालिएको महासंघका महासचिव राजेन्द्रविक्रम बानियाँले राससलाई जानकारी दिए ।

महासंघले देशभरका धर्मकाँटालाई डिजिटल बनाउने तयारी भइरहेको जनाएको छ । हाल देशभर २१ वटा धर्मकाँटा सञ्चालनमा छन् । महासंघका अनुसार ती सबै धर्मकाँटालाई क्रमशः डिजिटल बनाउने प्रक्रिया अघि बढाइने छ । डिजिटलाइजेशनपछि ओभरलोडको तथ्यांक र ट्रकको जानकारी सुरक्षित रुपमा व्यवस्थापन गर्न सकिनेछ ।

शुभारम्भ कार्यक्रममा मन्त्री दाहालले डिजिटल धर्मकाँटाले सरकारको यातायात नीति कार्यान्वयनमा सहयोग पुर्याउने विश्वास व्यक्त गरे । सो कार्यले व्यवसायीलाई जिम्मेवार बनाउने र यात्रु तथा मालसामानको सुरक्षित ढुवानी सुनिश्चित गर्ने उनको भनाइ थियो ।

महासंघले डिजिटल धर्मकाटाबाट तत्कालै लाभ प्राप्त हुने र अन्य क्षेत्रमा पनि डिजिटल रुपान्तरणलाई प्राथमिकता दिने योजना बनाएको छ । दुर्घटना न्यूनीकरणदेखि नियमनकारी निकायहरु ट्राफिक प्रहरी, यातायात व्यवस्था विभाग र व्यवसायीलाई आफ्नो सवारीसाधनले के कति भार बहन गरेको छ भन्ने जानकारी प्राप्त हुनेछ ।

Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार