घाटा बजेट परिपूर्ति गर्न ३ खर्ब ५८ अर्ब सार्वजनिक ऋण परिचालन

काठमाडौं । सरकारले गत आर्थिक वर्षमा घाटा बजेट परिपूर्ति गर्नका लागि करिब साढे ३ खर्ब बराबरको सार्वजनिक ऋण परिचालन गरेको छ । अर्थ मन्त्रालयका अनुसार घाटा बजेट परिपूर्तिको लागि गत आर्थिक वर्ष २०८०/८१ मा २ खर्ब ३४ अर्ब ४२ करोड आन्तरिक ऋण र १ खर्ब २३ अर्ब ६१ करोड बाह्य ऋण गरी जम्मा ३ खर्ब ५८ अर्ब ३ करोड बराबरको सार्वजनिक ऋण परिचालन गरिएको हो । गत आर्थिक वर्ष १७ खर्ब ५१ अर्ब ५३ करोड बजेट विनियोजन गरिएकोमा स्रोत पर्याप्त नभए सम्म सार्वजनिक ऋण लिएको मन्त्रालयले जानकारी दिएको छ ।

विश्वको जुनसुकै सरकारले पनि घाटा बजेट प्रस्तुत गर्ने र त्यसको लागि आन्तरिक र बाह्य स्रोतमा भर पर्ने गरेको विज्ञहरु बताउछन् । नेपालले पनि हरेक आर्थिक वर्षमा घाटाको बजेट पेश गर्छ ताकि भोलिको दिनुमा बजेट अभाव हुन नदिनका लागि घाटा बजेट ल्याउने गरेको पूर्व सचिव गोपीनाथ मैनालीले बताएका छन् । व्यत्तिगत वा संस्थागत आम्दानी र खर्च फरक हुने भएकोले सरकारले घाटाको बजेट ल्याएर एक आर्थिक वर्षसम्म प्रशस्त काम गर्ने योजना बनाएको हुन्छ, सोहि कारण बजेट ठूलो हुदैमा बिगिदैन , उनले भने ।

आर्थिक वर्ष २०८०/८१ मा कर राजस्व ९ खर्ब ४४ अर्ब ५५ करोड ४७ लाख, गैरकर राजस्व तर्फ १ खर्ब १४ अर्ब ३४ करोड १७ लाख र अन्य प्राप्ती २३ अर्ब ८५ करोड ३१ लाख गरी जम्मा १० खर्ब ८२ अर्ब ७४ करोड ९५ लाख राजस्व सङ्कलन भएको छ । यस अवधिको राजस्व परिचालन लक्ष्य १४ खर्ब २२ अर्ब ५४ करोड १७ लाख को तुलनामा ७६ प्रतिशत राजस्व सङ्कलन भएको छ ।

आर्थिक वर्ष २०८०/८१ मा अनुदान २२ अर्ब २७ करोड र ऋण १ खर्ब २३ अर्ब ६१ करोड गरी कुल १ खर्ब ४५ अर्ब ८८ करोड वैदेशिक सहायता परिचालन भएको छ । आर्थिक वर्ष २०८०/८१ को कुल वैदेशिक सहायतामध्ये अनुदान १५.३ प्रतिशत र ऋण ८४.७ प्रतिशत रहेको छ ।

आर्थिक वर्ष २०८०/८१ मा कुल १७ खर्ब ५१ अर्ब ५३ करोड बजेट विनियोजन गरिएकोमा यथार्थ खर्च १४ खर्ब ०८ अर्ब ७६ करोड अर्थात ८०.४ प्रतिशत भएको छ । चालु खर्चतर्फ ११ खर्ब ४१ अर्ब ७८ करोड विनियोजन भएकोमा ९ खर्ब ५२ अर्ब ४१ करोड अर्थात ८३.४ प्रतिशत र पुँजिगत तर्फ रु. ३ खर्ब ०२ अर्ब ७ करोड विनियोजन भएकोमा १ खर्ब ९१ अर्ब ७१ करोड अर्थात् ६३.५ प्रतिशत र वित्तीय व्यवस्था तर्फ ३ खर्ब ७ अर्ब ४५ करोड विनियोजन भएकोमा २ खर्ब ६४ अर्ब ६३ करोड अर्थात् ८६.१ प्रतिशत खर्च भएको छ ।

मन्त्रालयले समीक्षा अवधिमा निर्यात व्पापारमा कमी र आयात व्यापार उच्च रहेको समेत बताएको छ । गत आर्थिक वर्ष २०८०/८१ मा कुल वस्तु निर्यातमा ३ प्रतिशतले कमी भई १ खर्ब ५२ अर्ब ३८ करोड कायम भएको छ भने कुल वस्तु आयातमा १.२ प्रतिशतले कमी भई १५ खर्ब ९२ अर्ब ९९ करोड रहेको छ । अघिल्लो वर्ष यस्तो आयात १६.१ प्रतिशतले घटेको थियो। वस्तु आयात गरिने मुलुकका आधारमा भारत तथा अन्य मुलुकबाट भएको आयात घटेको छ भने चीनबाट भएको आयात उल्लेखनीय रुपले बढेको छ ।

आर्थिक वर्ष २०८/८१ मा कुल वैदेशिक लगानी आप्रवाहमा ६.२ प्रतिशतले वृद्धि भई ८ अर्ब ४७ करोड पुगेको छ । २०८१ असार मसान्तमा विदेशी विनिमय सञ्चिति २० खर्ब ४१ अर्ब १० करोड पुगेको छ ।

Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार