केपी ओलीको कम्बोडियामा लगानी छ भनेर स्यालहुइँया मच्चाइयो: एमाले

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले प्रधानमन्त्रीसमेत रहेका पार्टी अध्यक्ष केपी शर्मा ओलीको कम्बोडियामा लगानी रहेको भन्दै भ्रम फैलाएको बताएका छन्। काठमाडौंको दरबारमार्गमा आयोजित जागरण सभामा बोल्दै महासचिव पोखरेलले ओलीको कम्बोडियामा लगानी रहेको भन्दै भ्रम फैलाएको बताएका हुन् ।

साथै केही व्यक्तिहरूले कम्बोडियामा ओलीको लगानी रहेको भन्दै स्यालहुइँया मच्चाउने काम गरिरहेको उनको भनाइ छ ।

‘हाम्रा पार्टी अध्यक्ष केपी शर्मा ओलीको कम्बोडियामा लगानी छ भनेर स्यालहुइँया मच्चाउने काम भइरहेको छ। अध्यक्ष कमरेडले रोस्टमबाटै लगानी प्रमाणित गर्नुस्। त्यसको डबल दिन्छु भनिसक्नुभएको छ,’ उनले भने, ‘एउटा देशको टेलिकममा कसको लगानी छ भनेर अपारदर्शी हुनसक्छ? नेपाली समाजमा यस्ता व्यक्तिहरू पनि छन्, जसले जे कुरालाई पनि षड्यन्त्रको ढाँचाबाट प्रस्तुत गर्छन्।’

उनले पार्टीका विदेश विभाग प्रमुख राजन भट्टराई कम्बोडिया गएको विषयलाई पनि भ्रमित पार्न खोजेको महासचिव पोखरेलको भनाइ छ। उनले भने, ‘आज आइक्यापको अधिवेशन छ। अधिवेशनमा राजनीतिक दलका नेताहरू सहभागी छन्। हाम्रो नेता पनि त्यहाँ सहभागी छन्। अनि त्यसैलाई लिएर हाम्रो पार्टीको बदनाम गरिरहेको छ।’

Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार