‘भैरहवाबाट अब अन्तर्राष्ट्रिय उडान रोकिँदैन’

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले भैरहवास्थित गौतम बुद्व विमानस्थलबाट अब अन्तर्राष्ट्रिय उडान नरोकिने बताएका छन् । विमानस्थल पूर्ण क्षमतामा सञ्चालनका लागि सरकार दृढ र प्रतिबद्ध रहेकाले सुरु भएका अन्तर्राष्ट्रिय उडान अब विगतमा झैँ नरोकिने बताएका हुन् ।

सिद्धार्थ उद्योग वाणिज्य सङ्घ रुपन्देहीले शनिबार भैरहवामा आयोजना गरेको कार्यक्रममा उनले गौतम बुद्ध विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान सुरु भए पनि यसको दिगोपनालाई लिएर व्यवसायीले आशङ्का गरेपछि उडान निरन्तर रहनेमा ढुक्क हुन आश्वस्त पारे ।

”यो विमानस्थल नेपालकै मध्यभागमा रहेको र बुद्ध जन्मस्थल लुम्बिनीसमेत नजिकै रहेकाले यहाँबाट उडान हुँदा यात्रुलाई पनि सहज भएको छ । त्यति मात्र नभए यहाँको पर्यटन व्यवसायले पनि गति लिएको छ,” उनले भने ।

विमानस्थल दिगो रूपमा सञ्चालन गर्न आफू महिनामा दुई पटक अवलोकनका लागि आउने मन्त्री पाण्डेले जानकारी दिए । ”विमानस्थल सञ्चालनको दिगोपनाका लागि नै म महिनाको दुई पटक भैरहवा आउँछु,” उनले भने, ”संस्कृति र पर्यटन जोडिएकाले भैरहवाबाटै आफ्नो कार्यकक्ष चलाऔँ भन्ने पनि लागेको छ ।”

उनले विमानस्थलसँग सम्बन्धित श्रम, भिसा, मेडिकल, म्यानपावर कम्पनीलगायतका अत्यावश्यक कार्यालय स्थापनाका लागि साउनमै निर्णय भइसकेको पनि सो क्रममा जानकारी दिए । यसका लागि अब काठमाडौँ फर्केर प्रधानमन्त्रीस्तरीय बैठक बसी कार्यान्वयन गरिने प्रतिबद्धता पनि व्यक्त गरे ।

विमानस्थलसँग सम्बन्धित तत्काल गर्नुपर्ने काम र प्राविधिक तथा दिगो रूपमा गर्नुपर्ने कामलाई सूचीबद्ध गरेर लैजाने योजना रहेको पनि उनले बताए । लुम्बिनी विकास कोषका अध्यक्षसमेत रहेका मन्त्री पाण्डेले लुम्बिनी विकास कोषले दु्रत गतिमा काम गर्नुपर्ने सुझाव स्वीकार गर्दै आगामी दिनमा त्यसका कमीकमजोरी सुधार गरेर जाने बताए ।

नेपाल उद्योग वाणिज्य महासङ्घका केन्द्रीय अध्यक्ष चन्द्रप्रसाद ढकालले आधारभूत पूर्वाधार छिटो पूरा गर्न आग्रह गर्दै नतिजा देखिने हिसाबले पर्यटन विकास गर्न सकिने बताए ।

लुम्बिनी विकास कोषका उपाध्यक्ष ल्यारकाल लामाले बुद्ध धर्म बाहुल्य रहेका देशसँग अन्तर्राष्ट्रिय उडान गर्नका लागि निरन्तर छलफल गरिरहेको बताए । अन्तर्राष्ट्रिय उडानका लागि भारतका उच्चस्तरीय व्यक्तिसँग पनि निरन्तर वार्ता गरिरहेको उनले जानकारी दिए ।

गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक प्रताबबाबु तिवारीले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा पाँच वटा वायुसेवा कम्पनीले उडान गरिसकेको जानकारी दिए । अन्तर्राष्ट्रिय एयरलाइन्सलाई दिएको छुटको हिसाब गर्दा बैङ्कक गएर आउने जहाजले साढे ११ लाख छुट पाउने बताए ।

सिद्धार्थ उद्योग वाणिज्य सङ्घका अध्यक्ष ठाकुरकुमार श्रेष्ठले अन्तर्राष्ट्रिय विमानस्थलका लागि न्यूनतम पूर्वाधार पूरा गर्न आग्रह गर्दै श्रम स्वीकृति, स्वास्थ्य परीक्षण र म्यानपावरका शाखा रुपन्देहीमै ल्याउन मन्त्रीलाई आग्रह गरे ।

Garima Bikas
Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार