यू-१९ एशिया कपका लागि १५ सदस्यीय नेपाली टोलीको घोषणा

काठमाडौं । एसियन क्रिकेट काउन्सिल (एसीसी) यु १९ एशिया कपको लागि नेपाली टोली घोषणा भएको छ । एसीसीको आयोजनामा यु १९ एशिया कप आगामी शुक्रबारबाट युएईमा सुरु हुने प्रतियोगिताका लागि नेपाल क्रिक्रेट संघ (क्यान)ले शनिबार नेपाली टोली घोषणा गरेको हो ।

१५ सदस्यीय नेपाली टोलीको कप्तानका रुपमा हेमन्त धामी नियुक्त गरिएको छ । यस्तै उपकप्तानमा अर्जुन कुमाल रहेका छन् । टोलीमा आकाश त्रिपाठी, उत्तम थापा, मयन यादव, नरेन साउद, युनिस विक्रम सिंह ठकुरी, नरेन भट्ट, सन्तोष यादव, युवराज खत्री, रोशन विक, विपिन महतो, अपराजित पौडेल, अभिषेक तिवारी र रन्जित कुमार रहेका छन् ।

यसअघि घोषित १८ सदस्यीय टोलीबाट विकेटकिपर दिलसाद अलीसँगै तीव्र गतिका बलरद्वय राजेश यादव र दयानन्द मण्डल टोलीमा परेका छैनन् ।

नेपाली टोलीको प्रमुख प्रशिक्षकमा पूर्व राष्ट्रिय क्रिक्रेटर शक्ति गौचन र सहायक प्रशिक्षकको जिम्मेवारीमा धिरेन्द्र चन्द रहेका छन् ।

केही दिनअघि भारतको कनार्टक यू१९ सँगको पाँच खेलको सिरिजको प्रदर्शनको आधारमा अन्तिम टिम तयार गरिएको हो । उक्त सिरिज नेपाली टोलीले ३(२ ले जितेको थियो ।

एशिया कप प्रतियोगिता मंसिर १४ देखि २३ गतेसम्म हुनेछ । एशिया कपमा नेपालले पहिलो खेल मंसिर १४ गते श्रीलंकासॅंग खेल्ने छ । दोस्रो खेलमा मंसिर १६ गते बंगलादेशको सामना गर्नेछ अन्तिम खेल मंसिर १८ गते अफगानिस्तानसँग खेल्नेछ। खेल ५० ओभरको हुनेछ ।

एसीसीको आयोजनामा हुने प्रतियोगितामा एशियाका आठ देशले सहभागीता जनाउँदै छन् । प्रतियोगितामा एशियाका ५ टेस्ट राष्ट्र स्वत छनोट भएका थिए ।

नेपाल, युएई र जापान गत वर्ष मलेसियामा भएको एसीसी प्रिमियर कपको शीर्ष ३ मा रहेर छनोट भएका थिए । गत वर्षको अक्टोबरमा भएको यस प्रतियोगितामा युएईलाई हराउँदै नेपाल च्याम्पियन भएको थियो ।

प्रतियोगितामा सहभागी ८ टोलीलाई २ समूहमा विभाजन गरिएको छ । समूह विभाजनमा नेपाल समूह बी मा रहेको छ । नेपाल रहेको समूहमा श्रीलंका, बंगलादेश र अफगानिस्तान रहेका छन् ।

समूह ए मा भारत, पाकिस्तान, जापान र युएई रहेका छन् । समूहका शीर्ष २ टोली सेमिफाइनल पुग्नेछन् । फाइनल खेल मंसिर २३ गते हुनेछ ।

यु-१९ नेपाली टोली

Garima Bikas
Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार