डलर र युरो सहित ३ भारतीय पक्राउ

काठमाडौं । प्रहरीले स्रोत नखुलेको ठूलो परिमाणको विदेशी मुद्रासहित तीन जना भारतीय नागरिकलाई पक्राउ गरेको छ । उनीहरुबाट करिब ६३ लाख रुपैयाँबराबरको अमेरिकी डलर र युरो बरामद भएको प्रहरीले जनाएको छ । मकवानपुरको हेटौँडा–भैसे सडकखण्डस्थित चौकीटोल नजिकैको प्रहरी चेकपोइन्टबाट प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा भारतको उत्तर प्रदेश जालौन बस्ने ४० वर्षीय विजयसिंह कुशवाह, भारतको उत्तर प्रदेश गोरखपुर बस्ने २६ वर्षीय प्रशान्त पाठक र भारतको राजस्थान, चित्तौडगढका २३ वर्षीय राहुलकुमार माण्डावत छन् ।

कुशवाहको साथबाट यूएस डलर १२ हजार, पाठकको साथबाट युरो १४ हजार र माण्डावतको साथबाट युएस २० हजार डलर फेला परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायव उपरीक्षक (डीएसपी) श्यामु अर्यालले जानकारी दिए । स्रोत नखुलेको उक्त रकम नेपाली ६२ लाख ९० हजार ३५ रुपैयाँ हुन आउने प्रवक्ता अर्यालले बताए ।

काठमाडौंबाट हेटौंडा जाँदै गरेको बा.प्र.०३–००१ ज ०७६५ नम्बरको ईभी माइक्रोबसलाई चेकजाँच गर्दा सो परिमाणको रकम फेला परेको प्रहरीले जनाएको छ । पक्राउ परेका तीनैजनालाई जिल्ला प्रहरी कार्यालय मकवानपुरमा राखी अनुसन्धान अघि बढाइएको छ । यो प्रकरणलाई राजस्व अनुसन्धान विभाग, हरिहरभवन, ललितपुरमा पठाउने प्रक्रिया अगाडि बढाइएको बताइएको छ ।

Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार