काठमाडौं । सरकारले नेपाल धितोपत्र बोर्ड (सेबोन) अध्यक्षमा सन्तोष नारायण श्रेष्ठलाई नियुक्त गरेको छ । आज बसेको मन्त्रिपरिषद्को बैठकले सेबोन अध्यक्षमा उनलाई नियुक्त गरेको हो ।
सिफारिस समितिले सर्टलिस्टमा परेका पाँच जनामध्ये चार जनाको अन्तर्वाता र कार्ययोजना प्रस्तुति सम्पन्न गरेर सन्तोष नारायण सहित तीन जनाको नाम सेबोन अध्यक्षमा सिफारिस गरेको थियो ।
राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्रा.डा शिवराज अधिकारी संयोजनक रहेको अध्यक्ष सिफारिस समितिले तीन जनाको नाम सिफारिस गरेको हो । समितिले अध्यक्षका लागि सेबोनका कार्यकारी निर्देशकद्वय मुक्ति श्रेष्ठ तथा डा. नवराज अधिकारी र सन्तोषनारायण श्रेष्ठको नाम सिफारिस गरेको थियो ।
सर्टलिस्टमा परेका पाँच जनामध्ये दुई जना सेबोनका कार्यकारी निर्देशक मुक्ति श्रेष्ठ र सन्तोषनारायण श्रेष्ठले प्रचण्ड सरकारको पालामा असार २ गते अन्तर्वाता र कार्ययोजना प्रस्तुति दिएका थिए । तर बाँकी तीन जना उक्त अन्तर्वार्तामा उपस्थिति भएका थिएन् । तत्कालीन अवस्थामा अन्तर्वार्ता उपस्थित नहुनेमा सेबोनका कार्यकारी निर्देशक डा. नवराज अधिकारी, नेप्सेका सीईओ कृष्णबहादुर कार्की र नेपाल बीमा प्राधिकरणका पूर्व अध्यक्ष चिरञ्जीवी चापागाई थिए ।