काठमाडौं । नेपाल राष्ट्र बैंकका अनुसार पछिल्लो समय बैंक तथा वित्तीय संस्थाहरुको हायर पर्चेज (सवारी साधन) कर्जा वितरण घटेको छ । राष्ट्र बैंकका अनुसार चालु आर्थिक वर्षको असोजसम्म बैंक तथा वित्तीय संस्थाहरुको सवारी साधन कर्जा वितरण १ खर्ब २४ अर्ब ९४ करोड रुपैयाँ पुगेको छ । जुन गत आर्थिक वर्षको सोहि अवधिको तुलनामा ४ अर्ब ३५ करोड रुपैयाँले कमी हो । गत आर्थिक वर्षको सोहि अवधिमा बैंक तथा वित्तीय संस्थाहरुले सवारी साधन खरिदबिक्रीका लागि १ खर्ब २९ अर्ब ६८ करोड रुपैयाँ वितरण गरेको थियो ।
पछिल्लो समय अर्थतन्त्र चलायमान हुन नसक्दा यसको यातायात क्षेत्रमा समेत परेको बैंकरहरु बताउछन् । बैंकरहरु अनुसार बैंक तथा वित्तीय संस्थाले सवारी साधन कर्जा प्रवाहको लागि निरन्तर प्रयास गरे पनि कर्जा लिने व्यक्तिको अभावमा समस्या देखिएको हो ।
चालु आर्थिक वर्षको असोजसम्म वाणिज्य बैंकले सवारी साधन कर्जास्वरुप १ खर्ब ७ अर्ब ९९ करोड रुपैयाँ वितरण गरेको छ । जुन गत आर्थिक वर्षको भन्दा १ अर्ब ७५ करोड रुपैयाँले कम हो । गत आर्थिक वर्षको सोहि अवधिमा वािणज्य बैंकले सवारी साधन कर्जास्वरुप १ खर्ब ९ अर्ब ५८ करोड रुपैयाँ प्रवाह गरेको थियो ।
चालु आर्थिक वर्षको असोजसम्म विकास बैंकले सवारी साधन कर्जास्वरुप १३ अर्ब ८६ करोड २० लाख रुपैयाँ वितरण गरेको छ । जुन गत आर्थिक वर्षको तुलनामा २ अर्ब ७३ करोड ४० लाख रुपैयाँले कमी हो । गत आर्थिक वर्षको सोहि अवधिमा विकास बैंकले सवारी साधन कर्जास्वरुप १६ अर्ब ५९ करोड ६० लाख रुपैयाँ वितरण गरेको थियो ।
चालु आर्थिक वर्षको असोजसम्म वित्त कम्पनीहरुले सवारी साधन कर्जास्वरुप ३ अर्ब २५ करोड ९० लाख रुपैयाँ वितरण गरेको छ । जुन गत आर्थिक वर्षको भन्दा २४ करोड २० लाख रुपैयाँले कम हो । गत आर्थिक वर्षको सोहि अवधिमा वित्त कम्पनीहरुले सवारी साधन कर्जास्वरुप ३ अर्ब ५० करोड २० लाख रुपैयाँ वितरण गरेको थियो ।
सवारी साधनको बजार समेत चलयमान हुन नसक्दा सवारी साधन कर्जा घटेको विज्ञहरु बताउछन् । बजार र लगानी गर्ने ठाँउका अभाव कारणले गर्दा पैसा चल्न नसक्दा लगानीकर्ताहरुले लगानी उठाउन नसक्दा सवारी साधनको माग हुन नसकेको विज्ञहरु बताउछन् । पछिल्लो समय निजी सवारी साधनको तुलनामा सार्वजनिक सवारी साधनहरुको बिक्री माग रहेको व्यवसायीहरुले बताएका छन् । भन्सार विभागका तथ्यांकलाई हेर्दा पनि सवारी साधन आयातले निरन्तरता पाएको छ ।