जोन्टा, एनसेल फाउन्डेसन, यूएनएफपीए र युनिसेफ नेपालबीच लैंगिक हिंसाविरुद्ध सहकार्य

काठमाडौं । विश्वभर मनाइने लैंगिक हिंसाविरुद्धको १६ दिने अभियानको अवसरमा जोन्टा, एनसेल फाउन्डेसन, यूएनएफपीए र युनिसेफ नेपालले संयुक्तरूपमा बालविवाह अन्त्यका लागि जनसचेतना जगाउन एक विशेष कार्यक्रम आयोजना गरेका छन् ।

कार्यक्रममा महिला नेतृत्वमा रहेका संस्थाहरू, निजी क्षेत्रका प्रतिनिधिहरू र विभिन्न सरोकारवालाहरूले बालविवाह अन्त्यका समाधानबारे छलफल गरे ।

कार्यक्रमको उद्घाटन जोन्टाका अध्यक्ष बिना रानाले गरेकी थिइन् । उनले बालविवाह रोक्न सबै पक्षको सहकार्य अपरिहार्य रहेकोमा जोड दिइन् । युनिसेफ नेपालकी डेप्युटी रिप्रेजेन्टेटिभ टू नेपाल जी ह्युन राह, युएनएफपीए नेपालकी लैगिंक तथा मानव अधिकार विशेषज्ञ, कमला विष्ट, कलाकार प्रकाश सपुत, र एसडीजी स्टुडियोले ‘शिरमै फुर्के रिबन’ शीर्षकको संगीत भिडियो सार्वजनिक गरे । भिडियो किशोर किशोरीहरूलाई बालविवाहका असरबारे सचेत गराउन यूएनएफपीए र युनिसेफ नेपालले संयुक्तरूपमा बनाएका हुन् ।

नेपालमा बालविवाह अझै पनि लैंगिक समानता र महिला तथा किशोरीहरूको सशक्तीकरणका लागि प्रमुख चुनौती बनेको छ । नेपालमा तीनमध्ये एक किशोरी १८ वर्षभन्दा पहिले नै विवाह गर्छन्, जसले गर्दा उनीहरूको स्वास्थ्य, शिक्षा, र आर्थिक अवसरमा गम्भीर असर पार्छ ।

महिला, बालबालिका, तथा ज्येष्ठ नागरिक मन्त्रालयका उपसचिव दीपक ढकालले भने, “बालविवाह मानव अधिकारको उल्लंघन हो र यसलाई समाधान गर्न विभिन्न क्षेत्रको सहकार्य आवश्यक छ ।”

महिला नेतृत्वमा रहेका संस्थाहरू र महिला सशक्तीकरणका कार्यक्रमहरूले लैंगिक हिंसाविरुद्ध अग्रणी भूमिका खेल्दै आएका छन् । यी संस्थाहरूले महिलाहरू र किशोरीहरूको वास्तविक आवश्यकता बुझेर दीर्घकालीन परिवर्तन ल्याउन सक्छन् ।

महिला अधिकारकर्मी तथा युनाइटेड नेसनकी सीईडीएडब्ल्यू, कमिटी सदस्य बन्दना रानाले भनिन्, “महिलाहरू र किशोरीहरूको विविध आवश्यकतालाई प्राथमिकतामा राखेर काम गर्ने संस्थाहरूले लैंगिक समानता प्रवर्धन गर्न र स्थायी परिवर्तन ल्याउन सक्षम छन् ।”

निजी क्षेत्रले पनि बालविवाह अन्त्यका प्रयासहरूमा महत्त्वपूर्ण भूमिका खेल्न सक्छन् । स्रोत, प्लेटफर्म र आफ्नो प्रभावमार्फत, नेपाली व्यवसायहरूले लैंगिक समानता तथा बाल संरक्षण प्रवर्धन गर्ने नीति आफ्नो कार्यस्थलमा समावेश गर्न सक्छन् । साथै, आर्थिक सशक्तीकरणका कार्यक्रमहरूद्वारा किशोरीहरू र महिलाहरूलाई बालविवाहको विकल्प उपलब्ध गराउन सक्छन् ।

यस कार्यक्रममा आफ्नो धारणा राख्दै एनसेलकी हेड अफ कर्पोरेट कम्युनिकेसन्स एन्ड सीएसआर, विशाखा लक्ष्मी खड्काले भनिन् , “नेपालको एक अग्रणी निजी क्षेत्रको रूपमा एनसेल समावेशी र समानतामा आधारित समाज निर्माणप्रति प्रतिबद्ध छ । एनसेलमा हामी लैंगिक हिंसाको अन्त्य गर्नु केवल सामाजिक आवश्यकता मात्र नभई सबैको नैतिक जिम्मेवारी पनि हो भन्ने विश्वास राख्छौँ । यस किसिमको विभिन्न क्षेत्रको साझेदारीहरूको माध्यमबाट, हामी यस सामूहिक प्रयासलाई प्रोत्साहन गर्न, समुदायलाई सशक्त बनाउन सक्ने वातावरण निर्माणतर्फ काम गर्न चाहन्छौँ ।”

बालविवाहको मूल समस्याहरू, जस्तै गरिबी, शिक्षा अभाव र सीमित आर्थिक अवसरलाई समाधान गर्न महिला नेतृत्वमा रहेका संस्थाहरू, निजी क्षेत्र, र अन्य सरोकारवालाहरूको एकीकृत दृष्टिकोण आवश्यक छ । यस सहकार्यद्वारा बालविवाह अन्त्य गर्न सबै पक्षले आफ्नो अनुभव र स्रोत प्रयोग गरी योगदान गर्न सक्छन् ।

जोन्टा क्लब काठमाडौंकी अध्यक्ष बिना रानाले भनिन्, “लैंगिक हिंसा अझै पनि गम्भीर समस्या हो, जसलाई बालविवाहको बढ्दो दर र जलवायु परिवर्तनका खतराहरूले थप जटिल बनाएको छ । ‘जोन्टा सेज नो टू भायोलेन्स अगेन्स्ट वुमन’ अभियानमार्फत, हामी महिलाहरू, किशोरीहरू र समाजको उज्ज्वल भविष्य निर्माण गर्न प्रतिबद्ध छौँ । २०१८ देखि जोन्टा इन्टरनेसनलले यूएनएफपीए–युनिसेफ ग्लोबल प्रोग्राम टू इन्ड चाइल्ड म्यारिजलाई समर्थन गर्दै आएको छ । युनिसेफ, युएनएफपीए, र एनसेल फाउन्डेसनसँग सहकार्य गर्न पाउँदा हामी निकै हर्षित छौँ ।”

कार्यक्रमको समापनमा, युनिसेफ नेपालकी जी ह्युन राहले भनिन्, “विभिन्न सहकार्यद्वारा हामी बालविवाहको चक्र तोड्न र महिलाहरू तथा किशोरीहरूलाई उनीहरूको सम्पूर्ण सम्भावनामा पुग्न सशक्त बनाउन सक्ने छौँ । यो कार्यक्रम समानता र हिंसामुक्त समाज निर्माणतर्फको हाम्रो प्रारम्भ हो ।”

Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार