बाख्रापालनबाट वार्षिक ६ लाख आम्दानी

दाङ । तुलसीपुर उपमहानगरपालिका–१० टरिगाउँका ४० वर्षीय रुद्रगोपाल डाँगीले उन्नत जातका बाख्रापालन व्यवसायबाट वार्षिक रु १५ लाखसम्म आम्दानी गरिरहेका छन् ।

नेपाल प्रहरीबाट सेवानिवृत्त भएपश्चात् विसं २०७५ देखि व्यावसायिक बाख्रापालन सुरु गरेका उनले सबै खर्च कटाएर वार्षिक ६ लाख बचत हुने गरेको बताए ।

डाँगीले कृषि तथा पशुपालन क्षेत्रमा सम्भावना खोज्दै साहारा पशुपालन फार्म खोलेर उन्नत जातका बाख्रापालन सुरुआत गरेका थिए । उनले व्यावसायिक तरिकाबाट उन्नत जातका बाख्रापालन गरेर छोटो समयमा एक सफल बाख्रापालक किसानका रूपमा आफूलाई चिनाउन सफल भएका छन् । विगत ६ वर्षदेखि सो पेसामा आबद्ध डाँगीले अहिले दुईजना स्थानीयलाई रोजगारीसमेत दिएका छन् ।

सुरुका वर्षमा स्थानीयको एक कच्चीघरसहित केही जमिन भाडामा लिएर व्यवसायको सुरु गरे पनि अहिले आफ्नै पाँच कठ्ठा जमिनमा बाख्राका लागि खोर तथा घाँसका लागि रूख निर्माण गरेको डाँगीले बताए । उनका अनुसार फार्ममा अहिले साना र ठूलागरी दुई दर्जनबढी बाख्रा छन् ।

दसैँको समयमा १० वटा खसी आठवटा बोका बिक्री गरेको डाँगीले जानकारी दिए । खसी अधिकांश २५ किलो माथि र बोका १३ देखि १५ किलोका बिक्री गर्दा मनग्ये आम्दानी भएको भन्दै जिउँदो खसी प्रतिकेजी रु ८०० र बोका जिउँदो रु ७६५ का दरले बिक्री गरेको उनले बताए ।

डाँगीले फार्ममा अहिलेसम्म रु १५ लाखबढी लगानी भइसकेको बताए । खसी, बोका र बाख्राको मल बिक्रीबाट वार्षिक १४ देखि १५ लाखसम्म आम्दानी हुने गरेको जनाउँदै सबै खर्च कटाएर वार्षिक ६ लाखसम्म बचत हुने गरेको उनी बताउँछन् ।

Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार