नबिल एसएसईले तेस्रो वार्षिकोत्सव मनाउँदै: ८२० प्रशिक्षार्थी, ११७ उद्यम स्थापना र १२ सय रोजगारी

काठमाडौं । नबिल स्कूल अफ सोसियल इन्टरप्रेनरसिप (नबिल एसएसई) ले आफ्नो तेस्रो वार्षिकोत्सव मनाएको छ । २०२१ नोभेम्बर २६ मा स्थापना गरिएको नबिल एसएसई, नबिल बैंकको संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत सामाजिक उद्यमशीलताको विकासमार्फत सामाजिक रूपान्तरण गर्ने लक्ष्य राखेर अघि बढाइएको कार्यक्रम हो ।

नबिल बैंकले नबिल एसएसई फेलोसिप कार्यक्रम र सर्टिफिकेट कोर्स गरी दुई प्रकारको कार्यक्रम सञ्चालन गर्दै आएको छ । हालसम्म नबिल एसएसई कार्यक्रमबाट ८२० भन्दा बढी व्यक्तिहरूले उद्यमशीलता सम्बन्धी प्रशिक्षण प्राप्त गरिसकेका छन् । त्यस्तै, ११७ नयाँ उद्यमहरूको स्थापना भएको छ । यस कार्यक्रमबाट १२ सय रोजगारी सिर्जना गर्न सफल भएको बैंकले जानकारी दिएको छ ।

”नबिल एसएसईले नवीन सोच भएका व्यक्तिहरूलाई प्रोत्साहन गर्दै देशभित्र नै उद्यम गरी रोजगारी सिर्जना गर्न सफल भएकोमा हामी खुसी छौँ,” नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्रप्रसाद ढुंगानाले बताए । सामाजिक तथा आर्थिक रूपान्तरणमा नबिल एसएसईले गतिशील बनाएको भन्दै उनले भने, ”तीन वर्षको दौरानमा देशमा सयौँ मानिसहरूका लागि रोजगारी सिर्जना भएको छ भने यसले दीर्घकालीन सामाजिक परिवर्तनमा सहयोग हुनेमा हामी विश्वस्त छौँ ।”

स्थापनाकालदेखि हालसम्म, नबिल एसएसईले देशभरका १२ शैक्षिक संस्थाहरूसँग सहकार्य गर्दै आफ्ना कार्यक्रमहरू सफलतापूर्वक सञ्चालन गरिरहेको छ । त्रिभुवन विश्वविद्यालयको स्कूल अफ म्यानेजमेन्ट (सोमटियू) सँगको सहकार्यमा सञ्चालित फेलोसिप कार्यक्रमले सामाजिक उद्यमशीलतामा रुचि राख्नेहरूलाई उत्कृष्ट प्लेटफर्म प्रदान गर्दै आएको छ ।

सहभागीहरूले ६ महिनाको अवधिमा १८ दिनको एक्सन बेस्ड आवासीय तालिम प्राप्त गर्छन्, जसमा एक वर्षसम्मको मेन्टरसिप पनि उपलब्ध गराइएको छ । यस कार्यक्रमले अहिलेसम्म ५६ सामाजिक उद्यमीलाई तालिम दिइसकेको छ, जसबाट पहिलो तीन समूहका ४५ उद्यम सञ्चालन भई सयौंको रोजगारी सिर्जना गर्न सफल भएको नबिल बैंकले जनाएको छ । नबिल एसएसई अन्तर्गत हालै सुरु भएको चौथो ब्याचमा २० जना नयाँ उद्यमीहरूले आफ्नो उद्यमशीलता यात्रा प्रारम्भ गरेका छन् ।

Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार