१९ करोड लागतमा सानो गौचरनमा स्टेडियम बन्दै

काठमाडौं । काठमाडौँ महानगरपालिकाले सानो गौचरन स्टेडियम पुननिर्माण थालनी गरेको छ । उपप्रमुख सुनिता डंगोलले शिलान्यास गरेर आजबाट पुन:निर्माणको काम थालनी गरेकी हुन् । २२ करोड ९५ लाख ९३ हजार ९९९ लागत अनुमान गरिएको काम गर्न आव्हान गरिएको बोलपत्रबाट १८ करोड ८६ लाख ७४ हजार ८२७ रुपैयाँ कबोल गरेर शुभ कन्स्ट्रक्सनले पुन:निर्माणको जिम्मेवारी पाएको छ ।

स्टेडियम पुन:निर्माणको शिलान्यास गर्दै महानगरपालिकाका उपप्रमुख सुनिता डंगोलले, महानगरपालिकाले खेल पूर्वाधारमा लगानी बढाएको बताइन् । ‘सन्तुलित विकासका लागि भौतिक निर्माणसँगै आर्थिक र सामाजिक विकास सँगै लैजानुपर्छ । यस क्रममा खेलकुदलाई विकासको आयामसँगै अगाडि लैजाने कार्यक्रमअन्तर्गत स्टेडियम पुन:निर्माण गर्न लागेका हौँ,’ डंगोलले भनिन् । विद्यालय स्तरबाट खेलाडी उत्पादनका लागि कार्यक्रम सञ्चालन भइरहेको बताउँदै उनले, यो प्रयासबाट राष्ट्रिय पहिचान दिन सक्ने खेलाडी प्राप्त हुने अपेक्षा राखिन् ।

वडामा स्टेडियम पुन:निर्माणले स्थानीय विकासलाई उचाइमा लैजाने वडा नं. ५ का अध्यक्ष वीरेन्द्र प्रजापतीले धारणा राखे । ‘टोलहरु र चोकहरुमा मौलिक खेल पुनरुत्थान गरिरहेका छौँ । यहाँ व्यवस्थित फुटबल ग्राउण्ड निर्माण हुन्छ । भत्केको पुलमा करिब ५ रोपनी क्षेत्रफल जमिनमा बास्केटबल, टेबुलटेनिस, व्याटमिन्टन र फुटसलका लागि पूर्वाधार तयार गरिरहेका छौँ,’ प्रजापतीले भने । प्रजापतीले कार्यान्वयनमा आएका योजनाका विषयमा जानकारी गराए ।

स्टेडियममा ९६ वाई ६२ मिटरको खेल मैदान हुनेछ । मैदानमा आकाशे पानी निकास प्रणालीसहितको कृतिम घाँस राखिनेछ । वरिपरि सिमा पर्खाल हुनेछ । यसमा २८ वटा चार पाङ्ग्रे र १७८ वटा २ पाङ्ग्रे सवारी साधन अट्ने क्षमताको पार्किङ् हुनेछ । स्टेडियमको भुइँ तलामा महिलाका लागि २३ वटा र पुरुषका लागि १६ वटा शौचालय हुनेछन् । पहिलो तलामा ७ वटा महिलाका लागि र ५ वटा पुरुषका लागि शौचालय हुनेछन् ।

स्टेडियममा एउटा फिजियोथेरापी कक्ष, ३ वटा पुरुषका लागि ३ वटा महिलाका लागि गरेर ६ वटा कपडा फेर्ने कोठा, एउटा प्राथमिक उपचार कक्ष र २ वटा टिम लकर हुनेछन् ।

निर्माण कार्यको सार्वजनिक खरिदका लागि २०८१ वैशाख ३ गते सार्वजनिक सूचना जारी भएको थियो । यसबाट १६ कम्पनीबाट आवेदन परेको थियो ।

छनोट भएको निर्माण पक्षलाई कात्तिक २५ गते कार्यादेश दिइएको छ । यो काम २०८२ चैत मसान्तभित्र सम्पन्न गरिसक्नुपर्नेछ ।

रङ्गशाला १८ रोपनी १ आना २ पैसा ३ दान (९२११.५ वर्गमिटर) क्षेत्रफलमा निर्माण हुनेछ । यसमा दर्शक क्षमता १ हजार ५ सय जनाको हुनेछ ।

Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार