काँग्रेस र एमालेको सरकार बनेपछि सुशासन कमजोर भयो र भ्रष्टाचार बढ्यो – बर्षमान पुन अनन्त

काठमाडौं । इतिहासमै अहिलेजत्तिको कमजोर सुशासन कहिल्यै थिएन नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन अनन्तले  गृहजिल्ला रोल्पाको रुण्टीगढी गाउँपालिका–४ मा बिहीबार आयोजित चुनावी कार्यक्रमलाई सम्बोधन गर्दै पुनले यस्तो बताएका हुन् । उनले  र्दुइ ठूला दल काँग्रेस र एमालेको सरकार बनेपछि सुशासन कमजोर भएको र भ्रष्टाचार बढेको बताए ।

सहकारी ठगी प्रकरणमा उस्तै गल्ती गर्ने अरुमाथि कारबाही भए पनि सत्तारुढ काँग्रेस र एमालेका नेतालाई छानीछानी उन्मुक्ति दिने काम भएको उनको भनाइ थियो । ‘उस्तै गल्तीमा एउटामाथि कारबाही भएको छ । उस्तै घटनामा काँग्रेस–एमाले नेतामाथि कारबाही त परको कुरा बोलाएर सोधपुछ गर्ने र छानबिनको दायरामा राख्ने समेत काम भएको छैन’, पुनले भने ।

यस्तै उनले मानव तस्करसँग मिलेर युवाहरुलाई जापान लैजाने कोशी प्रदेशका पूर्वआन्तरिका मामिलामन्त्री एवं एमाले सांसद लिलाबल्लभ अधिकारीलाई उन्मुक्ति दिएकामा सरकारप्रति आपत्ति जनाए ।

‘मानव तस्करसँग मिलेर मान्छे लगेकामा जापानले डिपोर्ट गरेको छ । प्रहरीले १२ जनामाथि मुद्धा चलाउनुपर्ने प्रतिवेदन दिन्छ । तर, सरकारी वकिललले बिचौलियाको पैसामा जापान जाने मन्त्रीसहित ११ जनामाथि मुद्धा चलाउँछ, मानव तस्करीजस्तो गम्भीर अपराधमा मुछिएका एमालेका मन्त्रीलाई उन्मुक्ति दिन्छ’, पुनले भने, ‘पैसा खानेलाई उन्मुक्ति पैसा बुझाउनेलाई चाहिं कारबाही ? काँग्रेस–एमालेको सुशासन यस्तो छ ।’

लोकतन्त्रमा संधिवान, कानून र स्थापित विधिभन्दा माथि कोही नरहेकोमा पुनले जोड दिए ।

पुनले ०४६ देखि ०६२ सम्म जनताबाट तिरस्कृत काँग्रेस–एमालेलाई आफूहरुले १२ बुँदे सहमतिमार्फत गणतन्त्र, संविधान लेखन र परिवर्तनको प्रक्रियामा ल्याएपछि जनताले माफी दिएको बताए । ‘संविधान र परिवर्तनका एजेण्डा उल्ट्याएर आफनाले जतिसुकै ठूलो भ्रष्टाचार गरे पनि उन्मुक्ति दिने र अरुले बोल्दा पनि प्रतिशोध लिने प्रवृत्ति हाबी भएको छ’, उनले भने ।

अहिले फेरि संविधान संशोधनका नाममा परिवर्तनको प्रक्रियाबाट पछि हट्न खोजेकाले दुई दल दण्डित हुने चेतावनी पुनको थियो । पुनले आफ्ना अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री भएका बेला सुशासनको पक्षमा भ्रष्टाचारविरोधी अभियान चालिएको दाबी गरे । उनले सुशासन कमजोर भएको र भष्टाचार तथा अनियमितताका घटना बढेकाले लोकतन्त्रको सर्भिसिङ गर्नुपर्ने बेला आएको बताए ।

पुनले मुलुकमा बाढी पहिरो जाँदा अमेरिका सयर गरिरहेका प्रधानमन्त्रीले स्वदेश फर्किएपछि आफन्त गुमाएकाहरुलाई सान्त्वना दिनुको साटो ‘भैंसी दुहुन गएको होइन’ भन्नु जनतालाई हेपेको रुपमा व्याख्या गरे । यस्तै कार्यबाहक प्रधानमन्त्री सुतेर बसेको र गृहमन्त्री भिजिबिलीटी पुगेन भनेर बस्दा नख्खु खोलामा चार घण्टासम्म छतमा बसेर ज्यान बचाउन गुहार माग्नेहरुलाई बगाएको घटना कसैले बिर्सन नक्ने उनको भनाइ थियो । ‘दर्जनौं मानिस बाढीपहिरोबाट मरेका छन् । प्रम विदेश सयरमा हुनुहुन्छ । कार्यबाहक प्रधानमन्त्री सुतेर बस्नुभएको छ । गृहमन्त्रीलाई केही थाहा छैन । गल्ती भयो । सकिएन, मौसम विभागले भन्दाभन्दै पनि हाम्रो तयारी पुगेन भन्नुपर्नेमा प्रधानमन्त्रीले स्वदेश फर्किएपछि ‘भैंसी दुहुन गएको होइन’ भन्नुभयो’, पुनले भने ।

आफ्ना अध्यक्ष प्रचण्ड प्रधानमन्त्री भएका बेला जाजरकोट भूकम्प गएको स्मरण गर्दै उनले मानिसहरु बिहान उठ्दा प्रधानमन्त्रीले भूकम्प प्रभावित क्षेत्रमा पुगेर आफैं चढेको हेलिकोप्टरबाट घाइतेको उद्धार गरी अस्पताल पु¥याएको उल्लेख गरे । ‘एउटा प्रधानमन्त्री देशमा संकट अउँदा विदेश सयर गरेर बस्ने, नेपाल फर्किएपछि अहंकार र घमण्ड देखाएर उल्टै हप्काउने । अर्को प्रधानमन्त्री उज्यालो हुँदा हेलिकोप्टरबाट घाइते ओसारेर अस्पताल पु¥याउने’, उनले भने, ‘उहाँहरु र हामीमा यही फरक छ । यो फरक यतिबेला मानिसहरुले छुटयाएका छन् । माओवादीको सरकार सम्झिएका छन् ।’

पुनले दुई तिहाईको वर्तमान सरकारले अन्तर्राष्ट्रिय रुपमा समेत नेपालको उपस्थिति देखाउन नसकेको दाबी गरे ।

पुनले वर्तमान सरकारमा रहेका एमाले र काँग्रेसका वरिष्ठ नेताहरुले नै आफूहरुसँग दिक्दारी सुनाउन थालेको बताए । ‘काँग्रेसका साथीहरु भन्नुहुन्छ कि हरेक हप्ताजस्तो ओलीजीका नयाँनयाँ काण्डहरु आउन थाले कतिञ्जेल थेग्न सकिएला’, एमालेका साथीहरु भन्नुहुन्छ, ‘बाम सहकार्य पनि छाडियो । काँग्रेससँग सरकार चलाइएको छ । जनतामा निराशा थप बढेको छ । यसरी लामो समय जान सकिएलाजस्तो छैन ।’  यद्यपि आफूहर सरकार ढाल्ने खेलमा नलागेको उनको बताए । ०८४ को निर्वाचनसम्मै वर्तमान सत्ता गठबन्धन टिकोस् भन्ने पक्षमा आफ्नो दल रहेको पुनले उलेख गरे ।

Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार