जीवन बीमा व्यवसाय ८ प्रतिशतले बढ्यो, कुन कम्पनीको अवस्था कस्तो

काठमाडौं । जीवन बीमा कम्पनीहरुको व्यवसाय बढेको छ । चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो चार महिनामा जीवन बीमा कम्पनीहरुले ५३ अर्ब ३९ करोड ३२ लाख रुपैयाँ बराबरको व्यवसाय गरेका छन् । गत आर्थिक वर्षको सोही अवधिमा जीवन बीमा कम्पनीहरुको व्यवसाय ४९ अर्ब ४३ करोड ६२ लाख रुपैयाँ थियो । समीक्षा अवधिमा जीवन बीमा कम्पनीहरुको व्यवसाय ३ अर्ब ९५ करोड ६९ लाख रुपैयाँ अर्थात ८ प्रतिशतले बढेको हो ।

नेपाल बीमा प्राधिकरणको तथ्यांक अनुसार सञ्चालनमा रहेका १४ जीवन बीमा कम्पनीहरुले चार महिनाको अवधिमा १ करोड ३३ लाख ४९ हजार १५७ सक्रिय बीमालेख मार्फत ५३ अर्ब ३९ करोड ३२ लाख रुपैयाँ बीमा शुल्क संकलन गरेका हुन् ।

समीक्षा अवधिमा १३ जीवन बीमा कम्पनीले आफ्नो व्यवसाय विस्तार गर्दा एउटाको भने घटेको छ । गत आवको कात्तिक मसान्तसम्म ४ अर्ब २३ करोड १ लाख रुपैयाँ बीमा शुल्क संकलन गरेको राष्ट्रिय बीमा कम्पनीले चालु आवको सोही अवधिमा १ अर्ब ७७ करोड ६५ लाख रुपैयाँ मात्र बीमा शुल्क संकलन गरेको छ । समीक्षा अवधिमा कम्पनीको बीमा शुल्क २ अर्ब ४५ करोड ३६ लाख रुपैयाँ अर्थात ५८ प्रतिशतले घटेको छ ।

बीमा शुल्कको आधारमा नम्बर वान कम्पनी नेपाल लाइफ इन्स्योरेन्स रहेको छ । कम्पनीले चालु आवको पहिलो चार महिनामा १६ लाख ६२ हजार ४०२ सक्रिय बीमा लेख मार्फत १५ अर्ब ४० करोड ९५ लाख रुपैयाँ संकलन गरेको छ । गत आवको सोही अवधिमा कम्पनीले १३ अर्ब ४३ करोड ७६ लाख रुपैयाँको व्यापार गरेको थियो । समीक्षा अवधिमा कम्पनीको व्यवसाय १ अर्ब ९७ करोड १८ लाख रुपैयाँ अर्थात १४.६७ प्रतिशतले बढेको छ ।

व्यवसायको आधारमा दोस्रो स्थानमा नेशनल लाइफ इन्स्योरेन्स रहेको छ । कम्पनीले समीक्षा अवधिमा १५ लाख ७७ हजार ३२८ सक्रिय बीमा लेख जारी गरेर ६अर्ब ४३ करोड ७२ लाख रुपैयाँ आर्जन गरेको छ । गत आवको सोही अवधिमा कम्पनीले ५ अर्ब २९ करोड ३५ लाख रुपैयाँ आम्दानी गरेको थियो । समीक्षा अवधिमा कम्पनीको व्यवसाय १ अर्ब १४ करोड ३७ लाख रुपैयाँ अर्थात २१.६० प्रतिशतले बढेको छ ।

६ अर्ब ५ करोड ६७ लाख रुपैयाँ बराबरको व्यवसाय गरेको लाइफ इन्स्यारेन्स कर्पोरेसन (नेपाल) तेस्रो स्थानमा छ ।

हिमालयन लाइफ इन्स्योरेन्सले ५ अर्ब ५८ करोड ३० लाख, सुर्यज्योति लाईफ इन्स्योरेन्सले ३ अर्ब २५ करोड १३ लाख र एशियन लाईफ इन्स्योरेन्सले २ अर्ब ७४ करोड ३५ लाख रुपैयाँ बीमा शुल्क संकलन गरेका छन् ।

यस्तै सिटिजन लाइफ इन्स्योरेन्सले २ अर्ब १९ करोड ६४ लाख रुपैयाँ, सानीमा रिलायन्स लाइफ इन्स्योरेन्सले २ अर्ब ५ करोड ९५ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेका छन् ।

मेट लाइफ १ अर्ब ८७ करोड ५१ लाख, प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सले १ अर्ब ६२ करोड ७९ लाख, रिलायबल नेपाल लाइफ इन्स्योरेन्सले १ अर्ब ५५ करोड ८८ लाख, आईएमीई लाइफ इन्स्योरेन्सले १ अर्ब ५३ करोड ५७ लाख रुपैयाँ र सन नेपाल लाइफ इन्स्योरेन्सले १ अर्ब २८ करोड १५ लाख रुपैयाँ बीमा शुल्क संकलन गरेका छन् ।

 

 

Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार