प्रिमियम मूल्यमा शेयर जारी गरेका चार सिमेन्ट कम्पनीमध्ये तीन घाटामा

काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन)ले हालसम्म चारवटा सिमेन्ट कम्पनीलाई प्रिमियम मूल्यमा साधारण शेयर (आईपीओ) निष्कासन गर्न अनुमति दिएको छ । प्रिमियममा आईपीओ जारी गर्न राम्रो वित्तीय विवरण देखाएका थिए । जसका कारण सुरुवाती चरणमा यी कम्पनीहरुको लगानीकर्ता माझ निकै चर्चित थिए । तर पछिल्लो समयमा सन्तोषजनक वित्तीय विवरण देखाउन नसक्दा यी कम्पनीहरू आलोचनाको घेरामा परेका छन्।

नेप्सेमा सूचीकृत चार कम्पनीमध्ये शिवम् सिमेन्ट, घोराही सिमेन्ट, सर्वोत्तम सिमेन्ट, र सोनापुर मिनरल्स एण्ड आयलले प्रिमियम मूल्यमा शेयर जारी गरेका हुन् । यीमध्ये शिवम् सिमेन्ट बाहेक अन्य तीनवटा कम्पनी नोक्सानीमा रहेको चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो त्रैमासिकको वित्तीय विवरणमा देखिन्छ ।

घोराही सिमेन्ट

चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्म घोराही सिमेन्टले ५१ करोड ३८ लाख रुपैयाँ नोक्सानी व्यहोरेको छ। यो अघिल्लो आवको सोही अवधिमा भएको १९ करोड ८८ लाख नोक्सानीभन्दा दोब्बर बढी हो। कम्पनीको प्रति शेयर आम्दानी (ईपीएस) ऋणात्मक ४४.९६ रुपैयाँ छ भने नेटवर्थ १९६.६३ रुपैयाँ रहेको छ।

सर्वोत्तम सिमेन्ट

सर्वोत्तम सिमेन्टले चालु आवको प्रथम त्रैमासमा २ करोड २६ लाख रुपैयाँ नोक्सानी व्यहोरेको छ। अघिल्लो वर्षको सोही अवधिमा कम्पनीले १७ करोड ३८ लाख रुपैयाँ नाफा कमाएको थियो। कम्पनीको नेटवर्थ १९८.३३ रुपैयाँ छ भने ईपीएस ऋणात्मक १.९२ रुपैयाँ रहेको छ।

सोनापुर मिनरल्स एण्ड आयल

सोनापुरले चालु त्रैमाससम्म ८ करोड ५५ लाख ३२ रुपैयाँ नोक्सानी देखाएको छ । अघिल्लो वर्षको सोही अवधिमा यसको नोक्सानी ४६ करोड ९२ लाख ८६ हजार रुपैयाँ थियो । कम्पनीको नेटवर्थ १६०.४५ रुपैयाँ रहेको छ, जुन अन्य सिमेन्ट कम्पनीहरूभन्दा कम हो। सोनापुरको ईपीएस ऋणात्मक ११.१२ रुपैयाँ छ ।

शिवम् सिमेन्ट

शिवम् सिमेन्टले चालु आवको पहिलो त्रैमासमा १ करोड २८ लाख रुपैयाँ नाफा कमाएको छ। अघिल्लो वर्षको सोही अवधिमा ५ करोड ३४ लाख रुपैयाँ नोक्सानीमा रहेको यो कम्पनी अहिले सुधारको क्रममा छ। शिवमको वार्षिकीकृत ईपीएस १.०२ रुपैयाँ र नेटवर्थ १८९.२८ रुपैयाँ रहेको छ ।

भारत निर्यात र व्यापारमा चुनौतीहरू

नेपालका सिमेन्ट कम्पनीहरूले आन्तरिक बजारको माग सुस्त हुँदा भारतमा निर्यातबाट नाफा कमाउने प्रयास गरेका थिए। तर, भारतीय गुणस्तर प्रमाणपत्र नवीकरणमा देखिएको अवरोधले निर्यात प्रभावित भएको छ। भारतीय पक्षले नेपालमा दुग्धजन्य वस्तुहरूको निर्वाध आयातको दबाब दिन यसरी अवरोध सिर्जना गरेको उद्योग मन्त्रालयले बताएको छ।

सरकारले उत्पादनमूलक कम्पनीलाई शेयर बजारमा ल्याउन चारवटा कम्पनीलाई सार्वजनिक बनाएको थियो । तर, कम्पनीहरूको कमजोर वित्तीय प्रदर्शनले लगानीकर्ताको विश्वास घटाएको छ । यी कम्पनीहरूले प्रिमियम मूल्यमा शेयर जारी गरे पनि लगानीकर्ताको अपेक्षाअनुसार लाभांश दिन नसक्दा आलोचना भइरहेको छ।

यस अवस्थाले सिमेन्ट क्षेत्रको वित्तीय तथा व्यवस्थापकीय पक्ष सुधार्न थप रणनीतिक कदमहरू आवश्यक रहेको देखिन्छ।

Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार