सामाजिक सुरक्षा कोष : १८ लाख बढी योगदानकर्ता सूचीकृत, ६९ अर्ब योगदान रकम संकलन

काठमाडौं । सामाजिक सुरक्षा कोषमा योगदान रकममा वृद्धि भएको छ । कोषमा सूचीकृत हुने योगदानकर्ताको संख्यामा वृद्धि भएपछि योगदान रकममा पनि वृद्धि भएको सामाजिक सुरक्षा कोषले बताएको छ । आइतबारसम्म कोषको खातामा योगदान रकमवापत् ६९ अर्ब ६५ करोड ९८ लाख रुपैयाँ संकलन भएको छ ।

आर्थिक वर्ष २०८०/८१ असारसम्म कोषमा योगदानबापत ५७ अर्ब ५५ करोड ८१ लाख रुपैयाँ सङ्कलन भएको थियो । हाल योगदान रकम करिब १३ अर्बले बढे सँगै उक्त योगदान रकम पुगेको हो । आइतबारसम्म १८ लाख १५ हजार ७०८ जना योगदानकर्ताहरू कोषमा सूचीकृत भएको प्रवक्ता कृष्णा अधिकारीले जानकारी दिए । २०७५ मंसिर ११ गतेदेखि कार्यान्वयनमा आएको सामाजिक सुरक्षा कोषले २०७६ साउन १ गतेदेखि योगदान रकम सङ्कलनको थालनी गरेकोमा हालसम्म उक्त रकम सङ्कलन भएको उनको भनाइ छ ।

समीक्षा अवधिमा कोषमा सूचीकृत रोजगारदाताको संख्या १९ हजार ८०६ जना रहेका छन् । योगदानकर्ताको तुलनामा रोजगारदाताहरूको कोषमा आकर्षण देखिन नसके पनि संख्या भने सूक्ष्मरूपमा निरन्तर बढिरहेको छ । साथै कोषले स्थापनाकालदेखि सामाजिक सुरक्षा करको व्यवस्थापन गर्दै आएकोमा योगदानमा आधारित सामाजिक सुरक्षा ऐन, २०७४ जारी भएपछि सो ऐनबमोजिम कार्य गर्दै आएको छ ।

सोही ऐनको दफा १० मा औषधि उपचार तथा स्वास्थ्य सुरक्षा योजना, मातृत्व सुरक्षा योजना, दुर्घटना सुरक्षा योजना, अशक्तता सुरक्षा योजना, वृद्ध अवस्था सुरक्षा योजना, आश्रित परिवार सुरक्षा योजना, बेरोजगार सहायता योजनाका अतिरिक्त कोषले तोकेका अन्य सामाजिक सुरक्षा योजना सञ्चालन गर्नेछ भनी कोषले सञ्चालन गर्नसक्ने सामाजिक सुरक्षा योजनाहरूको दायरा किटान गरिएको हुँदा सोहीअनुरुप काम गर्दै समेत आएको छ ।

सोही क्रममा कोषले आइतबारसम्ममा औषधि उपचार, स्वास्थ्य तथा मातृत्व योजनाअन्तर्गत १ अर्ब ४९ करोड ५२ लाख रुपैयाँ, दुर्घटना तथा अशक्तता सुरक्षा योजनाअन्तर्गत १५ करोड २२ लाख रुपैयाँ, आश्रित परिवार सुरक्षा योजनाअन्तर्गत १८ करोड ६३ लाख रुपैयाँ र अवकाश रकम ९ अर्ब ८३ करोड ५९ लाख रुपैयाँ दाबी गरेका छन् ।

समीक्षा अवधिमा ११ अर्ब ६९ करोड ९६ लाख रुपैयाँँ कुल दाबी भुक्तानी परेको कोषले जनाएको छ । योजनाअनुरूप दाबी गरिएको रकम कोषले भुक्तानी गर्दै जानेगरेको छ । कोषले भुक्तानीको लागि मापदण्ड पूरा भए/नभएको अध्यययनपछि रकम निकासा गर्ने गर्छ । दाबी गरिएको रकम प्रक्रिया बुझेर सहज ढङ्गले भुक्तानी गर्ने कोषले जनाएको छ ।

योगदानमा आधारित सामाजिक सुरक्षा योजनाअनुसार मासिक पारिश्रमिक भुक्तानी गर्दा आधारभूत पारिश्रमिकको ३१ प्रतिशत रकममध्ये रोजगारदाताको तर्फबाट २० प्रतिशत र श्रमिकको तर्फबाट ११ प्रतिशत योगदान गर्नुपर्ने व्यवस्था छ ।

पछिल्ला समय सरकारले स्वदेशका साथै वैदेशिक रोजगारीमा गएका नेपाली श्रमिकलाई कोषमा आबद्धता गरेसँगै सूचीकृत योगदानकर्ता र योगदान रकममा वृद्धि हुनपुगेको हो । कोषले २०८० चैत दोस्रो सातादेखि वैदेशिक रोजगारीमा रहेका श्रमिकलाई कोषमा आबद्ध गरेको हो । यसैबीच वैदेशिक रोजगारीमा रहेका साढे दुई लाख जना बढी श्रमिक कोषमा आबद्ध भएका छन् । अपौचारिक, अनौपचारिकका साथै विदेशमा रहेकालाई कोषमा आबद्ध गराउने रणनीतिका कारण पनि कोष सफल हुँदै गएको बताइन्छ ।

Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार