गार्डियन माइक्रो लाइफको आइपोओ बिक्रि सुरु

काठमाडौं । गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सले आजबाट आइपीओ बिक्री खुला गर्ने भएको छ । कम्पनीले पहिलो चरणमा आजदेखी वैदेशिक रोजगारमा रहेका नेपाली श्रमिकका लागि आइपीओ बिक्री खुला गर्न लागेको हो। यो आइपीओमा विदेशमा रहेका नेपालीले  पुस ३ गतेसम्म आवेदन दिन सक्नेछन्।

कम्पनीले चुक्तापुँजीको ३० प्रतिशतले हुन आउने २२ करोड ५० लाख रुपैयाँको आइपीओ ल्याउने अनुमति पाएको छ । आइपीओ बिक्री पश्चात कम्पनीको चुक्तापुँजी ७५ करोड रुपैयाँ हुनेछ।

पहिलो चरणमा कम्पनीले वैदेशिक रोजगारमा रहेका नेपालीलाई अनुमति पाएको २२ करोड ५० लाख रुपैयाँको १० प्रतिशतले हुन आउने २ करोड २५ लाख रुपैयाँको आइपीओ बिक्री गर्नेछ। जसअनुसार कम्पनीले १०० रुपैयाँ अंकित दरका कुल २ लाख २५ हजार कित्ता बिक्री खुला गर्नेछ ।

वैदेशिक रोजगारमा रहेका नेपाली आइपीओ बिक्री गरेपछि दोस्रो चरणमा ३ प्रतिशतले हुन आउने ६७ हजार ५०० कित्ता आफ्ना कर्मचारीलाई, ५ प्रतिशतले हुन आउने १ लाख १२ हजार ५०० कित्ता सामूहिक लगानी कोषलाई र बाँकी १८ लाख ४५ हजार कित्ता सर्वसाधारणलाई बिक्री खुला गर्नेछ।

वैदेशिक रोजगारमा रहेका नेपाली आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र सीडीएससीको मेरो शेयरबाट आवेदन दिन सक्नेछन् । कम्पनीको आइपीओ बिक्री प्रबन्धकमा कुमारी क्यापिटल रहेको छ।

गार्डियन माइक्रो लाइफ आइपीओको अनुमति पाई  जारी गर्ने पहिलो लघु बीमा कम्पनी बनेको छ  । ३ लघु बीमा कम्पनीको नेपाल धितोपत्र बोर्डबाट आइपिओको अनुमतिको पर्खाईमा रहेका छन्  ।

हाल नेपालमा ७ वटा लघु बीमा कम्पनी सञ्चालनमा छन् । यी लघु बीमाको न्यूनतम चुक्तापुँजी ७५ करोड रुपैयाँ हुनुपर्ने प्रावधान रहेको छ। हाल कम्पनीहरुको संस्थापकतर्फको ५२ करोड ५० लाख रुपैयाँ चुक्ता भइसकेको छ भने बाँकी २२ करोड ५० लाख रुपैयाँ साधारण शेयर बिक्री गरेर जुटाउनु पर्नेछ।

 

Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार