काठमाडौं । मुक्तिनाथ क्यापिटलले आज मङ्सिर २० गतेदेखि “मुक्तिनाथ म्युचुअल फण्ड” अन्तर्गत संचालन हुने सामुहिक लगानी कोष योजना “मुक्तिनाथ म्युचुअल फण्ड १” को इकाई बिक्री खुला गरेको छ। यो म्यचुअल फण्ड१ अर्बको रहेको छ ।
१ अर्वको फण्डमा १३ प्रतिशत इकाई अर्थात् १ करोड ३० लाख इकाई कोष प्रबर्दक मुक्तिनाथ विकास बैंकलाई छुट्याईएको छ भने २ प्रतिशत अर्थात् २० लाख इकाई योजना व्यवस्थापक मुक्तिनाथ क्यापिटललाई छुट्याईएको छ । बाँकि रहेको ८ करोड ५० लाख इकाई आम सर्वसाधारणलाई बिक्री गरिने छ ।
यस निष्काशनमा न्युनतम १०० इकाई र अधिकतम १ करोड इकाईको लागि आवेदन दिन सकिने छ । लगानीकर्ताले छिटोमा मङ्सिर २४ गते सम्म र सो अवधिसम्म पर्याप्त आवेदन नपरेमा ढिलोमा पुस ४ गतेसम्म आवेदन दिन सक्ने छन् ।
योजना व्यवस्थापक, डिपोजिटरी र धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकको कार्य मुक्तिनाथ क्यापिटलले गर्नेछ ।
१० वर्षे म्युचुअल फण्ड बन्दमुखी (Closed Ended) रहेको छ । इकाईधनीहरुबाट संकलित रकम प्रचलित कानुन अनुसार नेपाल धितोपत्र बोर्डमा दर्ता भएका सूचिकृत धितोपत्र, निक्षेप, नेपाल सरकारले जारी गरेका वा नियन्त्रणमा रहेको कुनै संस्थाले जारी गरेको ऋणपत्र, ट्रेजरी विल तथा मुद्रा बजारका अन्य उपकरणहरुमा लगानी गर्ने जनाईएको छ । योजना व्यवस्थापकले आफ्ना इकाईधनीहरुलाई दक्ष लगानी सेवाद्घारा उचित प्रतिफल दिनुका साथै व्यवस्थापकको हैसियतबाट सामुहिक लगानी कोष बजारको दिगो विकासमा सघाउ पुयाउने उद्देश्यले योजना संचालन गर्न लागेको जनाएको छ । निष्काशन सम्बन्धी अन्य सम्पूर्ण प्रक्रियाहरु सम्पन्न गरी यहि आउँदो मंसिर महिना भित्र सार्वजनिक निष्काशन मार्फत् इकाईहरु बिक्रिमा ल्याउने मुक्तिनाथ क्यापिटलले जानकारी गराएको छ ।