काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले बेल्ट एन्ड रोड इनिसियटिभ (बीआरआई) फ्रेमवर्कमा हस्ताक्षर नभएको प्रस्ट पारेका छन् ।
चारदिने चीन भ्रमण पूरा गरी स्वदेश फर्किएपछि त्रिभुवन विमानस्थलमा पत्रकारले सोधेको प्रश्नमा प्रधानमन्त्री ओलीले विआरआई अन्तर्गतका परियोजना ऋणका रूपमा लिने गरी हस्ताक्षर नगरेको बताएका हुन् ।
‘अस्ति मैले आमसभादेखि नै ऋण लिन जाने होइन भनेको थिएँ । ऋणबारे कुरा पनि चलेन । बीआरआई अन्तर्गतका परियोजना कार्यान्वयनका क्रममा छुट्टै छलफल गर्ने छौं । हामीले प्राप्त गरेको कुरा ऋण होइन । ऋणको विषय उठेको पनि छैन’, प्रधानमन्त्रीले भने, ‘सधैँ किन ऋण, ऋण, यो सारङ्गी किन बजेका छ ?’
आफ्नो चीन भ्रमणका क्रममा राष्ट्रपति सी चिनफिङ, प्रधानमन्त्री लीगायतसँगको छुट्टाछुट्टै भेटवार्ता भएको भन्दै ती भेटवार्तामा दुई पक्षीय हितका बारेमा कुराकानी भएको बताए ।
त्यसक्रममा प्रधानमन्त्रीले पोखरा विमानस्थलका बारेमा कुनै कुरा नउठेको समेत बताए ।