अकाउन्टिङलाई एआईमार्फत रूपान्तरण गर्दै टिग, अब बिल टाइप गर्नै नपर्ने

काठमाडौं । नेपालको लोकप्रिय अकाउन्टिङ सफ्टवेयर टिगले एआई फिचर सार्वजनिक गरेको छ । बिल इन्ट्री गर्ने प्रक्रियालाई अझै छिटो र सजिलो बनाउन टिग एआई फिचर सार्वजनक गरिएको हो ।

व्यवसायहरूका लागि बिल इन्ट्री गर्ने  प्रक्रिया आफैमा लामो हुन्छ । तर अब यो प्रक्रियालाई टिक एआईले निकै सजिलो बनाउने छ ।

टिगमा राखिएको बिलहरु अब एआईले नै स्वतः सिस्टममा राखिदिने छ । एआईमार्फत टिगले अकाउन्टिङ क्षेत्रमा क्रान्तिकारी परिवर्तन ल्याउन खोजेको छ ।

प्रयोगकर्ताहरूलाई सहज, सरल र छिटो सुविधा प्रदान गर्ने उद्देश्यसहित टिग एआई फिचर ल्याएको टिगका सीईओ रमेश केसीले बताए ।

‘एआई फिचरले समयको मात्रै बचत गर्दैन् । यसले समग्र प्रक्रियालाई नै सहज बनाउने छ,’ उनले भने, ‘टिग एआईले भविष्यको अकाउन्टिङलाई प्रतिनिधित्व गर्दछ । अकाउन्टिङ क्षेत्रलाई रूपान्तरण गर्न हामी एककदम अगाडि बढेका छौं । यसले अकाउन्टेन्टहरूलाई पनि सशक्तिकरण गर्नेछ ।’

प्रयोगकर्ताहरूले टिगमा बिलहरुको  फोटो अपलोड गरेपछि एआई फिचर प्रयोग गर्न ‘स्क्यान विथ एआई’ बटनमा क्लिक गर्नुपर्नेछ । त्यसपछि सिस्टमले बिल  रिड गर्नेछ र आफै स्वत सिस्टममा लेखिदिने छ ।

अनि एआईले स्वतः राखेको विवरण सही भएको वा नभएको जाँच गरेर थप मिलाउनु पर्ने भए मिलाउन सकिने छ । एआई फिचरको प्रिन्टेड बिलमा ९९ प्रतिशत र हातले लेखेको बिलामा ९५ प्रतिशत एकुरेसी भएको कम्पनीले जनाएको छ । म्यानुअल इन्ट्रीभन्दा टिग एआईबाट बिल इन्ट्री गर्दा ११५ गुणा बढी छिटो हुनेछ ।

गज्जबको कुरा त, टिग एआईले नेपाली भाषा समेत सपोर्ट गर्छ । कम्पनीका अनुसार टिगको एआई सुविधाले म्यानुअल रूपमा डेटा इन्ट्री गरिरहनुपर्ने समस्या अन्त्य गर्दै प्रयोगकर्ताहरूलाई आफ्नो व्यवसायमा थप समय दिन मद्दत गर्नेछ ।

प्रयोगकर्तालाई छिटो र सहज सेवा दिने कार्यलाई टिगले सधैं पहिलो प्राथमिकतामा राख्दै आएको छ । त्यसै अनुसार एआई फिचर ल्याइएको हो ।

यो सुरूवात मात्र भएको र अकाउन्टिङ प्रक्रियालाई सहज र प्रभावकारी बनाउन अझै रूपान्तरणकारी एआई फिचर ल्याएर आउने कम्पनीले प्रतिबद्धता जनाएको छ ।

टिग क्लाउडमा आधारित अकाउन्टिङ सफ्टवेयर हो । देशभर ५ हजार बढी साना तथा मझौला व्यवसायले प्रयोग गरिरहेको टिग आईएसओ 270001 सर्टिफाइड कम्पनी समेत हो ।

Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार