सिटिजन्स बैंकको नेतृत्वमा ४१.०६ मेगावाट क्षमताको जलविद्युत परियोजना अघि बढ्दै

काठमाडौं । सिटिजन्स बैँक इन्टरनेसनलको अगुवाईमा एभरेष्ट बैंक, नेपाल एसबिआइ बैंक र सानिमा बैँक सहित ४ बैँकहरुले ६ अर्ब १५ करोड रुपैयाँ ऋण लगानी गर्ने गरी ४१.०६ मेगावाट क्षमताको संखुवाखोला जलविद्युत परियोजना आउने भएको छ । सोमबार प्रवद्र्धक कम्पनी गुराँस हाईड्रो लिमिटेड एवं लगानीकर्ता बैँकहरु बीच वित्तीय व्यवस्थापनका लागि सहवित्तीयकरण कर्जा सम्झौतामा हस्ताक्षर भएको छ । उक्त परियोजना कोशी प्रदेश, संखुवासभा जिल्ला, सिलिचोङ गाँउपालिका र भोजपुर जिल्ला, साल्पा सिलिचाछो गाँउपालिकमा निर्माण हुनेछ ।

परियोजनाको अनुमानित लागत करिब ८ अर्ब २० करोड रुपैयाँमध्ये बैंकहरुले ७५:२५ को ऋण:स्वपुँजी अनुपातमा ६ अर्ब १५ करोड रुपैयाँ बराबरको ऋण लगानी गर्नेछन् । यसमध्ये सिटिजन्स बैंकबाट रु. २ अर्ब ९० करोड, एभरेष्ट बैंकबाट रु. १ अर्ब २५ करोड, नेपाल एसबिआइ बैंकबाट १ अर्ब २५ करोड र सानिमा बैँकबाट रु. ७५ करोड लगानी हुनेछ भने २५% स्वपुँजी प्रवद्र्धकहरुबाट जुटाइने छ । परियोजना आगामी चार वर्षभित्र निर्माण सम्पन्न गरी विद्युत उत्पादन गर्ने लक्ष्य रहेको र निर्माण सम्पन्न पश्चात उत्पादित बिजुली नेपाल विद्युत प्राधिकरणको संखुवासभा स्थित सित्तलपाटी सब स्टेशनमा जोडिने छ । कम्पनीका अनुसार आयोजनाबाट हिउँदमा ७५.०४१ गिगावाट घन्टा र बर्षायाममा १६५.८८८ गिगावाट गरी बार्षिक २४०.९२९ गिगावाट घन्टा विद्युत उत्पादन हुनेछ ।

सहवित्तीयकरण कर्जा सम्झौता हस्ताक्षर कार्यक्रमलाई संवोधन गर्दै सिटिजन्स बैँकका प्रमुख कार्यकारी अधिकृत गणेश राज पोखरेलले सिटिजन्स बैंकले स्थापना कालदेखि नै एकल लगानीका साथै आफ्नो अगुवाई, सह अगुवाई तथा अन्य बैंकहरुसँगको सह वित्तीयकरण कर्जा मार्फत जलविद्युत लगायत हरित उर्जा क्षेत्रमा उल्लेख्य रुपमा लगानी गर्दै आएको र बैंकिङ्ग क्षेत्र एवं स्वतन्त्र उर्जा उत्पादकहरुको संयुक्त लगानीबाट धेरै आयोजनाहरुको निर्माण भई संचालनमा आएका कारण देशको समग्र उर्जा क्षेत्रको विकासमा नीजि क्षेत्रको ठूलो योगदान रहेको बताए । हाल सम्म निर्माण सम्पन्न भएका १२४.५४१ मेगावाट क्षमताका १३ वटा आयोजना र निर्माणाधिन ५१६.५७४ मेगावाट क्षमताका १६ वटा आयोजना सहित जम्मा ६४१.११५ मेगावाट क्षमताका २९ वटा आयोजनामा सिटिजन्स बैंकको लगानी रहेको छ । सिटिजन्स् बैंकले हाल सम्म १५ वटा हाइड्रो पावर आयोजनामा अगुवा बैंक, २ वटा हाइड्रोपावर आयोजनामा सह अगुवा बैंक, ९ वटा हाइड्रोपावर आयोजनामा सहभागी बैंक रुपमा र ३ वटा हाइड्रोपावर आयोजनामा एकल लगानी रहेको छ । प्रवद्र्धक कम्पनी गुरा¤स हाईड्रो लिमिटेडका तर्फबाट अध्यक्ष शिव प्रसाद घिमिरेले आगामी चार वर्षभित्र परियोजना निर्माण सम्पन्न गरी विद्युत उत्पादन गर्ने लक्ष्य रहेको र हालसम्म नेपाल विद्युत प्राधिकरण, विद्युत विकास विभाग, वन तथा वातावरण मन्त्रालय लगायत सरोकारवाला निकायहरुमा गर्नुपर्ने सबै कानूनी प्रक्रिया पुरा गरी सकिएकोले आयोजना तत्काल निर्माण शुरु गरि समयमै सम्पन्न हुने विश्वास व्यक्त गरे ।

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशैभरी ६० जिल्लामा फैलिएका आफ्ना १९७ वटा शाखा, १६२ वटा एटीएम, ३ विस्तारित काउन्टर र ७४ वटा शाखा रहित बैंकिङ्ग ईकाइहरुबाट १८ लाख भन्दा बढी ग्राहकवर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ ।

Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार