नेपाल इन्टरनेट फाउन्डेसनमार्फत बागलुङका २ विद्यालयमा हाई-टेक स्मार्ट कक्षा स्थापना

काठमाडौं । नेपाल इन्टरनेट फाउन्डेसनले बागलुङका २ वटा ग्रामीण विद्यालयमा प्रविधिमैत्री शिक्षण सिकाइका लागि कम्प्युटर, स्मार्ट बोर्ड र इन्टरनेट सेवा जडान गरेको छ । बागलुङको जनप्रिय आधारभूत विद्यालय र भीमादरबार आधारभूत विद्यालयमा फाउन्डेसनले डिजिटल साक्षरता विकास गर्न र विद्यार्थीहरूलाई थप शैक्षिक अवसरहरू सिर्जना गर्न उक्त पूर्वाधारहरू जडान गरेको हो ।

उक्त कार्यक्रममा नेपाल इन्टरनेट फाउन्डेसनका अध्यक्ष श्रेष्ठ, एमट्रिक्स टेक्नोलोजीका सहसंस्थापक चिराग थापा, फाउन्डेसनका कार्यक्रम संयोजक विकास खत्री, एक अभियानकी संयोजक तजैना श्रेष्ठ, जनप्रिय स्कुलका अध्यक्ष नरबहादुर थापा र प्रधानध्यापक गणेश बहादुर भण्डारी, भीमादरबार स्कुका अध्यक्ष राजेन्द्र थापा र प्रधानध्यापक रुद्र पौडेल, काठेखोला गाउँपालिकाका शिक्षा समिति अध्यक्ष तथा वडा नम्बर १ का अध्यक्ष खड्क थापा, वडा नं. २ का अध्यक्ष विद्यापति शर्मा, सामाजिक अभियान्ता गंगा थापा र प्रमुख अतिथि  होम बहादुर मल्ल लगायतको उपस्थिति रहेको थियो ।

कार्यक्रममा बोल्दै नेपाल इन्टरनेट फाउन्डेसनका अध्यक्ष श्रेष्ठले प्रविधिमार्फत शैक्षिक समानताका लागि संस्थाको प्रतिबद्धतामा र शिक्षा घरबाट सुरु हुन्छ भन्नेमा जोड दिएका थिए। यस्तै कार्यक्रममा वडा अध्यक्ष भीद्यापति शर्माले ग्रामीण शिक्षामा यो पहलले ठूलो परिवर्तन ल्याउने उल्लेख गरेका थिए । समाजसेवी गंगा थापाले संसार अहिले ग्लोबल गाउंमा  रूपान्तरण भएको छ र ग्रामीण समुदायमा डिजिटल साक्षरताको दीर्घकालीन फाइदाहरूबारे प्रकाश पारेकी थिए ।

नेपाल इन्टरनेट फाउन्डेसनले केही समय अगाडि गरेको एक अध्ययनमा ग्रामीण विद्यालयहरूमा आईसीटी पूर्वाधारको ठूलो आवश्यकता रहेको पाइएको थियो । त्यसपछि संस्थाले ग्रामीण विद्यालयमा आइसिटी पूर्वाधार जडान गर्ने परियोजना अगाडि बढाएको हो । यसलाई परियोजनालाई एपिनिक फाउन्डेसनको पनि सहयोग रहेको छ ।

दुवै विद्यालयमा सोलार प्रणाली पनि जडान गरिएको छ, जसले विद्युत नहुँदा पनि निरन्तर सेवा प्रदान गर्नेछ । विद्यालयमा स्थापना गरिएका कम्युनिटी इन्टरनेट एक्सेस सेन्टरहरूले स्थानीय समुदायलाई पनि नि: शुल्क वाइफाइ र डिजिटल पहुँच प्रदान गर्ने छन् । यसले सीप विकास र समावेशी शिक्षा प्रवर्द्धन गर्न सहयोग गर्ने आशा गरिएको छ ।

यो पहलले बागलुङको शैक्षिक विकास र डिजिटल सशक्तीकरणका लागि आधारशिला तयार गर्दै गुणस्तरीय डिजिटल शिक्षा प्रदान गर्न सक्षम हुने बताइएको छ ।

Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार