अर्थतन्त्र सुस्त हुँदा सवारी साधन कर्जामा गिरावट, चार महिनामा १ खर्ब २६ अर्ब प्रवाह

काठमाडौं । अर्थतन्त्र चलयामान हुन नसक्दा त्यसको असर हायर पर्चेज अर्थात् सवारी साधन र मेशिनरी सामग्री कर्जामा परेको देखिन्छ । पछिल्लो समय हायर पर्चेज अर्थात् विशेष गरी सवारी साधन खरिद गर्ने उपभोक्ताको संख्यामा कमी आउँदा सवारी साधन खरिदका लागि कर्जा प्रवाहको माग समेत घटेको बैंक तथा वित्तीय संस्थाको अधिकारीहरु बताउँछन् । अर्कोतर्फ भन्सार कार्यालयहरुमा बिक्रीको लागि ल्याएको सवारी साधनहरु थुप्रिएर बसेको देखिन्छ ।

नेपाल राष्ट्र बैंकका अनुसार पछिल्लो समय बैंक तथा वित्तीय संस्थाहरुको हायर पर्चेज (सवारी साधन) कर्जा वितरण घटेको छ । राष्ट्र बैंकका अनुसार चालु आर्थिक वर्षको कार्तिकसम्म बैंक तथा वित्तीय संस्थाहरुको सवारी साधन कर्जा वितरण १ खर्ब २६ अर्ब ७१ करोड रुपैयाँ पुगेको छ । जुन गत आर्थिक वर्षको सोहि अवधिको तुलनामा २ प्रतिशत अर्थात् २ अर्ब ९ करोड रुपैयाँले कमी हो । गत आर्थिक वर्षको सोहि अवधिमा बैंक तथा वित्तीय संस्थाहरुले सवारी साधन खरिदबिक्रीका लागि १ खर्ब २८ अर्ब ८० करोड रुपैयाँ वितरण गरेको थियो ।

पछिल्लो समय अर्थतन्त्र चलायमान हुन नसक्दा यसको यातायात क्षेत्रमा समेत परेको बैंकरहरु बताउछन् । बैंकरहरु अनुसार बैंक तथा वित्तीय संस्थाले सवारी साधन कर्जा प्रवाहको लागि निरन्तर प्रयास गरे पनि कर्जा लिने व्यक्तिको अभावमा समस्या देखिएको हो ।

चालु आर्थिक वर्षको कार्तिकसम्म वाणिज्य बैंकले सवारी साधन कर्जास्वरुप १ खर्ब ९ अर्ब ५५ करोड ३० लाख रुपैयाँ वितरण गरेको छ । जुन गत आर्थिक वर्षको सोहि अवधिको तुलनामा ६६ करोड ८० लाख रुपैयाँले कम हो । गत आर्थिक वर्षको सोहि अवधिमा वािणज्य बैंकले सवारी साधन कर्जास्वरुप १ खर्ब ८ अर्ब ८८ करोड ५० लाख रुपैयाँ प्रवाह गरेको थियो ।

चालु आर्थिक वर्षको कार्तिकसम्म विकास बैंकले सवारी साधन कर्जास्वरुप १३ अर्ब ८१ करोड २० लाख रुपैयाँ वितरण गरेको छ । जुन गत आर्थिक वर्षको सोहि अवधिको तुलनामा २ अर्ब ६७ करोड रुपैयाँले कम हो । गत आर्थिक वर्षको सोहि अवधिमा विकास बैंकले सवारी साधन कर्जास्वरुप १६ अर्ब ४८ करोड २० लाख रुपैयाँ वितरण गरेको थियो ।

चालु आर्थिक वर्षको कार्तिकसम्म वित्त कम्पनीहरुले सवारी साधन कर्जास्वरुप ३ अर्ब ३५ करोड २० लाख रुपैयाँ वितरण गरेको छ । जुन गत आर्थिक वर्षको सोहि अवधिको तुलनामा ८ करोड ६० लाख रुपैयाँले कम हो । गत आर्थिक वर्षको सोहि अवधिमा वित्त कम्पनीहरुले सवारी साधन कर्जास्वरुप ३ अर्ब ४३ करोड ८० लाख रुपैयाँ वितरण गरेको थियो ।

सवारी साधनको बजार समेत चलयमान हुन नसक्दा सवारी साधन कर्जा घटेको विज्ञहरु बताउछन् । बजार र लगानी गर्ने ठाँउका अभाव कारणले गर्दा पैसा चल्न नसक्दा लगानीकर्ताहरुले लगानी उठाउन नसक्दा सवारी साधनको माग हुन नसकेको विज्ञहरु बताउछन् । पछिल्लो समय निजी सवारी साधनको तुलनामा सार्वजनिक सवारी साधनहरुको बिक्री माग रहेको व्यवसायीहरुले बताएका छन् ।

Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार