कर्मचारी सुरक्षण कोषको २१ करोड लगानी गर्दै राष्ट्र बैंक

काठमाडौं । नेपाल राष्ट्र बैंकले कर्मचारी सुरक्षण कोषमा रहेको २१ करोड रुपैयाँ विभिन्न बैंक तथा वित्तीय संस्थामा लगानी गर्ने भएको छ । बैंकले बुधबार एक सूचना जारी गर्दै राष्ट्र स्तरका बैंक तथा वित्तीय संस्थाहरुमा २१ करोड रुपैयाँ लगानी गर्ने जनाएको हो ।

बैंकले राष्ट्र स्तरको ‘क’ वर्गका वाणिज्य बैंकमा १६ करोड ८० लाख रुपैयाँ, ‘ख’ वर्गका राष्ट्रिय स्तरका विकास बैंकमा ३ करोड १५ लाख रुपैयाँ र ‘ग’ वर्गका राष्ट्रिय स्तरका वित्त कम्पनीमा १ करोड ५ लाख रुपैयाँ मुद्दती निक्षेपका रूपमा लगानी गर्न लागेको राष्ट्र बैंकले जनाएको छ ।
२०८१ पुष ९ गतेदेखि २०८२ पुष ९ गतेसम्म ३६६ दिनका लागि मुद्दती निक्षेपको रुपमा लिन चाहेको रकम खुलाई पुष ५ गते ६:०० बजेभित्र ब्याजदर प्रस्ताव गर्न बैंकले आह्वान गरेको छ । उक्त निक्षेप लिन बैंक तथा वित्तीय संस्था सञ्चालनमा आएको कम्तीमा २ वर्ष पूरा गरेको र बैंकबाट तोकिएको न्यूनतम पुँजीकोष कायम रहेको हुनुपर्ने बैंकले जनाएको छ ।

त्यस्तै, निष्कृय कर्जा कुल कर्जा सापटीको ५ प्रतिशत भन्दा कम रहेको, खुद तरल सम्पत्ति बैंकले तोकेको न्युनतम सीमा कायम गरेको र कर्जा निक्षेप अनुपात बैंकले समय समयमा निर्धारण गरेको सीमा भित्र रहेको बैंकहरुमा लगानी गर्ने राष्ट्र बैंकले सूचना मार्फत जानकारी दिएको छ ।

Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार