नेपाल बैंकर्स संघको ३८औं वार्षिक साधारणसभा सम्पन्न, अध्यक्षमा कोइराला निर्वाचित

काठमाडौं ।नेपाल बैंकर्स संघले आफ्नो ३८औं वार्षिक साधारणसभा विशेष कार्यक्रमको आयोजना गर्दै भव्य रूपमा सम्पन्न गरेको छ। कार्यक्रममा संघका निवर्तमान अध्यक्ष सुनिल केसीले आफ्नो कार्यकालका मुख्य गतिविधिहरू प्रस्तुत गर्दै बैंकिङ क्षेत्रको प्रगति र सुधारका लागि सहयोग गर्ने सबैलाई धन्यवाद व्यक्त गरे। उनले नेपालको बैंकिङ क्षेत्र दक्षिण एसियामा उत्कृष्ट रहेको र यसमा नेपाल राष्ट्र बैंकले खेलेको अभिभावकत्वको भूमिकालाई उच्च सराहना गरे ।

कार्यक्रममा International Finance Corporation (IFC) का Regional Economist for South Asia कमलिका दासले विश्व अर्थतन्त्रको वर्तमान अवस्था, चुनौतीहरू, र सम्भावित समाधानबारे जानकारी गराए। उनले दक्षिण एसियाली राष्ट्रहरूको तुलनात्मक आर्थिक वृद्धिको उच्च दरको मुख्य कारकका रूपमा विप्रेषणलाई औंल्याए ।

साधारणसभाको अवसरमा बैंकिङ क्षेत्रका विशिष्ट योगदानकर्ताहरूलाई सम्मान गर्ने परम्परालाई निरन्तरता दिँदै यस वर्ष राजन सिंह भण्डारीलाई सम्मानपत्र प्रदान गरियो। भण्डारीले सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडको अध्यक्ष, नेपाल बैंकर्स संघको अध्यक्ष, र नेपाल राष्ट्र बैंकको कार्यकारी निर्देशकका रूपमा वित्तीय क्षेत्रको विकास र सुधारका लागि महत्त्वपूर्ण भूमिका खेलेका छन् ।

सम्मान ग्रहण गर्दै भण्डारीज्यूले नेपालको बैंकिङ क्षेत्रको भविष्य उज्ज्वल रहेको बताउँदै डिजिटल प्रविधिको प्रयोगलाई प्रोत्साहन गर्नुपर्नेमा जोड दिए ।

यसैगरी, रत्नराज बज्राचार्य र किरण कुमार श्रेष्ठलाई समेत बैंकिङ क्षेत्रमा पुर्‍याएको योगदानको कदर गर्दै सम्मान प्रदान गरियो। बज्राचार्यले नेपालको बैंकिङ क्षेत्रलाई प्रतिस्पर्धी बनाउन सरकारको सहयोग आवश्यक रहेको बताए श्रेष्ठले बैंकिङ समस्याहरू समाधान गर्न सरकार र सबै क्षेत्रको सहकार्यको आवश्यकता रहेको औंल्याए ।

कार्यक्रमका प्रमुख अतिथि नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले नेपालको बैंकिङ क्षेत्र अत्यन्तै पारदर्शी रहेको उल्लेख गरे। उनले बैंकिङ क्षेत्रमा भएका चुनौतीहरूको सामना गर्न क्षेत्र सक्षम रहेको बताउँदै सबै बैंकरलाई सकारात्मक सोचका साथ अगाडि बढ्न आग्रह गरे ।

कार्यक्रमको अन्त्यमा संघका नवनिर्वाचित अध्यक्ष सन्तोष कोइरालाले सबैको सहकार्यबाट संघलाई अझ सबल बनाउन प्रतिबद्धता व्यक्त गरे । उनले संघलाई अघि बढाउन सबैको सहयोग आवश्यक रहेको बताउँदै धन्यवाद ज्ञापन गरे ।

साधारणसभामा नेपाल राष्ट्र बैंक, अर्थ मन्त्रालय, बैंक तथा वित्तीय संस्थाका उच्च अधिकारीहरू, र विभिन्न संघरसंस्थाका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो। कार्यक्रमले नेपालको बैंकिङ क्षेत्रलाई सबल, आधुनिक, र प्रतिस्पर्धात्मक बनाउने दिशामा महत्त्वपूर्ण योगदान पुर्‍याउने विश्वास गरिएको छ।

Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार