काठमाडौं । लिबर्टी ईनर्जी कम्पनी लिमिटेडले मंसिर १६ गतेदेखि निष्कासन गरेको ५० प्रतिशत हकप्रद शेयरमा आवेदन दिने आज अन्तिम दिन रहेको छ ।
कम्पनीले कात्तिक २० गतेसम्म कायम शेयरधनीहरुका लागि प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यका ७५ लाख कित्ता हकप्रद शेयर निष्कासन गरेको हो । यो हकप्रद शेयरमा आवेदन दिने अन्तिम समय पुस ७ गतेसम्म यस अघिनै तय गरिएको थियो । हकप्रद शेयरमा आवेदन दिन बाँकी शेयरधनीहरुले बैंकिङ समयभित्र आवेदन पेश गर्न कम्पनीले भनेको हो ।
यो हकप्रद शेयर विक्री प्रबन्धकमा प्रभु क्यापिटल लिमिटेड रहेको छ । विक्री प्रबन्धकसँगै लिबर्टी ईनर्जीको कार्यालय कालिकास्थान, काठमाडौं र आस्बा सेवामा सहभागी सम्पूर्ण बैंक तथा वित्तीय संस्थाबाट आवेदन दिन सकिने व्यवस्था छ । साथै मेरो शेयरबाट पनि आवेदन दिन सकिनेछ । हाल कम्पनीको चुक्तापूँजी १ अर्ब ५० करोड रुपैयाँ छ ।
५० प्रतिशत हकप्रद शेयर निष्कासन तथा बाँडफाँटपछि कम्पनीको चुक्तापूँजी २ अर्ब २५ करोड रुपैयाँ कायम हुनेछ ।