५८ अर्ब ३१ करोड थप हुदाँ करिब २५ खर्ब पुग्यो सार्वजनिक ऋण

काठमाडौं । सार्वजनिक ऋण करिब २५ खर्ब रुपैयाँ पुगेको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनुसार चालू आर्थिक वर्षको ५ महिनामा सरकारको ऋण ५८ अर्ब ३१ करोड रुपैयाँ थपिएको छ । कार्यालयका अनुसार सार्वजनिक ऋण २४ खर्ब ९२ अर्ब ४१ करोड रुपैयाँ पुगेको छ । यसमध्ये आन्तरिक ऋण दायित्व १२ खर्ब १७ अर्ब ६६ करोड रुपैयाँ र बाह्य ऋण १२ खर्ब ७४ अर्ब ७४ करोड रुपैयाँ छ ।

सार्वजनिक ऋण २ प्रतिशतले बढे सँगै यसको आकारमा वृद्धि भएको हो  । यो सँगै सार्वजनिक ऋण कुल गार्हस्थ्य उत्पादनको आधारमा ४४ प्रतिशत पुगेको छ । यसैबीच सरकारले यस आर्थिक वर्षमा ५ खर्ब ४७ अर्ब रुपैयाँ सार्वजनिक ऋण लिने लक्ष्य राखेको छ । जसमा तीन खर्ब ३० अर्ब रुपैयाँ आन्तरिक ऋण र २ खर्ब १७ अर्ब रुपैयाँ बाह्य ऋण उठाउने लक्ष्य राखेको छ । सउनदेखि मंसिर मसान्तसम्म सरकारले १ खर्ब ९२ अर्ब २९ करोड रुपैयाँ ऋण लिएको छ । जसमा आन्तरिक ऋणको हिस्सा १ खर्ब ६४ अर्ब रुपैयाँ र बाह्य ऋणको हिस्सा २८ अर्ब २९ करोड रुपैयाँ छ ।

सार्वजनिक ऋण बढ्दै जानु स्वाभाविक भएको कार्यालयका अधिकारीहरू बताउँछन् । बजेटले व्यवस्था गरेअनुसार स्रोत परिचालन गर्नका लागि सार्वजनिक ऋण लिएको हो भने अर्कोतर्फ कुल गार्हस्थ्य उत्पादन (जीडीपी) को आधारमा सार्वजनिक ऋण ४३ दशमलव ६९ प्रतिशत हुनआएको छ जुन जोखिम पूर्ण नहुने कार्यालयका उपसचिव प्रकाश पुडासैनीले इक्विटी नेपाललाई बताए । विश्व मुद्रा कोषले जीडीपीमा ५५ प्रतिशतभन्दा तलको अनुपातलाई खराब नमान्ने हुँदा नेपालको सार्वजनिक ऋणलाई लिएर समस्या नरहेको उनको भनाई छ । अर्थतन्त्रलाई स्वःस्फूर्त चलायमान बनाइराख्न, विकास निर्माणका कार्यलाई सुचारु राख्न र आर्थिक सामाजिक दायित्व पूरा गर्न आवश्यक न्यून वित्त परिपूर्ति गर्ने दिशामा सार्वजनिक ऋण परिचालन एक महत्वपूर्ण माध्यम मानिने हुँदा नेपालजस्तो मुलुकलाई सार्वजनिक ऋण आवश्यक पर्ने विज्ञहरु बताउछन् ।

सरकारले यस आर्थिक वर्षका लागि ऋणको साँवा र ब्याज भुक्तानीको लागि ४ खर्ब २ अर्ब रुपैयाँ बजेट विनियोजन गरेकोमा मंसिरसम्म १ खर्ब ७० अर्ब ५९ करोड रुपैयाँ भुक्तानी गरेको छ । जुन वार्षिक बजेट विनियोजनको आधारमा ४२ दशमलव ३५ प्रतिशत हो । कुल गार्हस्थ्य उत्पादनकोे आधारमा मंसिरसम्म कुल ऋण सेवा खर्च २ दशमलव ९९ प्रतिशत हो ।

कार्यालयका अनुसार आन्तरिक ऋणतर्फको साँवारब्याज भुक्तानी १ खर्ब ४९ अर्ब ६६ करोड रुपैयाँ रहेको छ जसमा साँवा भुक्तानी १ खर्ब २७ अर्ब २४ करोड रुपैयाँ र ब्याज भुक्तानी २२ अर्ब ४२ करोड रुपैयाँ छ । बाह्य ऋणतर्फको साँवा÷ब्याज भुक्तानी २० अर्ब ९३ करोड रुपैयाँ रहेको छ जसमा साँवा भुक्तानी १७ अर्ब ३१ करोड रुपैयाँ र ब्याज भुक्तानी तीन अर्ब ६१ करोड रुपैयाँ रहेको छ । पछिल्ला वर्षहरूमा सरकारले वित्तीय व्यवस्थापनतर्फ विनियोजन गरेको रकम पुँजीगत बजेटभन्दा बढी रहेको छ जसले देशको आर्थिक अवस्था कमजोर रहेको जनाउने विज्ञहरु बताउँछन् ।

Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार