रविविरुद्ध सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरण अभियोगसहित मुद्दा दर्ता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेविरुद्ध जिल्ला अदालत कास्कीमा सहकारी ठगीसँगै तीनवटा अभियोगमा मुद्दा दर्ता भएको छ ।

उनीविरुद्ध आइतबार अदालतमा सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणमा अभियोगपत्र दर्ता गरिएको अदालतका सूचना अधिकारी सुरज अधिकारीले जानकारी दिए ।

सरकारी वकिलको कार्यालय, कास्कीले पूर्वउपप्रधान एवं गृहमन्त्री लामिछानेलगायत पाँच जनाविरुद्ध संगठित रुपमा सहकारी ठगी गरी त्यसबाट आर्जित सम्पत्ति शुद्धीकरण गरेको अभियोग लगाएको छ ।

पोखराको सूर्यदर्शन सहकारीको रकम हिनामिना गरेको र त्यसको केही हिस्सा गोर्खा मिडिया प्रालिमा लगानी गरेको आरोपमा लामिछाने लगायतमाथि मुद्दा दायर भएको हो ।

पूरक जाहेरी लिएपछि पक्राउ परेका गोर्खा मिडिया नेटवर्कका तत्कालीन प्रबन्ध निर्देशक लामिछाने, नेटवर्कका सञ्चालक एवं पूर्वडीआईजी छविलाल जोशी बञ्जाडे, लीला पछाईं, रामबहादुर खनाल र कृष्णबहादुर गुरुङविरुद्ध छुट्टाछुट्टै मागदाबी गरिएको छ ।

यसअघि शुक्रबार पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा १९ जनाविरुद्ध मुद्दा दायर भएको थियो ।

सूर्यदर्शन सहकारी पीडितले गत माघ २२ गते लामिछानेसहित विभिन्न कम्पनीका सञ्चालक र प्रबन्ध निर्देशकविरुद्ध जाहेरी दिएका थिए । सोही जाहेरीका आधारमा लामिछाने लगायतलाई पक्राउ गरी पूरक अभियोग अदालतमा पेस गरिएको हो ।

लामिछाने गत कात्तिक २ गते काठमाडौंबाट पक्राउ परेका थिए । त्यसपछि उनलाई पोखरा लगिएको थियो । त्यसबीचमा उनीसँग कास्कीका अलवा रुपन्देही, काठमाडौं, चितवन र पर्सामा समेत लिइएकाे थियाे ।

 

Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार