वैदेशिक सहायता २३७ प्रतिशतले बढ्यो

काठमाडौं । नेपाल सरकारलाई विकास साझेदारबाट प्राप्‍त हुने वैदेशिक सहायतामा उल्लेख्य परिमाणमा वृद्धि भएको छ ।
चालू आर्थिक वर्ष २०८१/८२ को पुष पहिलो हप्‍तासम्ममा २ खर्ब २ अर्ब ४० करोड रुपैयाँ बराबरको वैदेशिक सहायताको नयाँ प्रतिवद्धता प्राप्‍त भएको हो ।

गत आर्थिक वर्ष २०८०/८१ को सोही अवधिमा प्राप्‍त प्रतिवद्धता ५९ अर्ब ९८ करोड रुपैयाँको तुलनामा चालु आर्थिक वर्षमा प्राप्‍त प्रतिवद्धता २३७.५ प्रतिशतले बढेको अर्थ मन्त्रालयका प्रवक्ता महेश भट्टराईले जानकारी दिनुभयो । प्रवक्ता भट्टराई अनुसार यस अवधिमा वैदेशिक अनुदानको प्रतिवद्धता १५३.१ प्रतिशतले र वैदेशिक ऋणको प्रतिवद्धता २८०.६ प्रतिशतले बढेको छ ।

त्यसैगरी चालू आर्थिक वर्षको हालसम्मको अवधिमा प्राप्‍त वैदेशिक सहायता पनि गत वर्षको समान अवधिको तुलनामा ३०.३ प्रतिशतले वृद्धि भएको छ । अर्थ मन्त्रालयका प्रवक्ताका अनुसार यस अवधिमा वैदेशिक अनुदान ६ अर्ब ७५ करोड रुपैयाँ र वैदेशिक ऋण ३७ अर्ब ३३ करोड रुपैयाँ समेत जम्मा ४४ अर्ब ८ करोड रुपैयाँ वैदेशिक सहायता प्राप्‍त भई विभिन्न विकास निर्माणका कार्यमा प्रयोग भएको छ ।

 

Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार